४९ दिनमा सकियो ‘होस्टेल ३’को छायांकन

सशान कँडेलको डेब्यू निर्देशनमा बनेको फिल्म ‘होस्टेल ३’को छायांकन ४९ दिनमै प्याकअप गरिएको छ । तर, प्रदर्शन मिति भने अहिलेसम्म टुंगो लाग्न सकेको छैन । यसअघि फागुन १६ गतेबाट प्रदर्शन हुने भनिएको यो फिल्म निर्धारित मितिबाट पोष्टपोन्ड भइसकेको छ ।

निर्माणपक्षका अनुसार केही कलाकारको शारीरिक परिवर्तन आवश्यक परेकाले एक साताको फुटकर दृश्यको छायांकन अझै बाँकी छ ।

यो फिल्ममा पारस बम, रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, र आशिष पुरुष लगायतका कलाकारले अभिनय गरेका छन् । फिल्मको कथा माधव शर्माले लेखेका हुन् ।

सम्मान इन्टरटेन्मेन्ट र आरोन कन फिल्मको सहकार्यमा निर्माण भएको यो फिल्ममा अर्जुन तिवारीको डीओपी, वुद्द थापा र मनोज खत्रीको छायांकन छ । शंकर कोइराला कार्यकारी निर्माता, कर्ण कार्की र गोविन्द अधिकारी निर्माता, र सुरेश कँडेल सह–निर्माताको रूपमा रहेका छन् ।

‘होस्टेल’ सिरिज नेपाली फिल्म क्षेत्रमा नयाँ स्टार जन्माउने सिरिजको रूपमा चिनिन्छ । अनमोल केसी, सलोन बस्नेत, नाजिर हुसेन, सुशील श्रेष्ठ र स्वस्तिमा खड्का जस्ता स्टारहरू यसै सिरिजबाट चर्चामा आएका थिए । अब, तेस्रो सिरिजले कुन कलाकारलाई स्टार बनाउनेछ भन्ने हेर्न बाँकी छ ।

फिल्मको कुनै पनि लुक्स सार्वजनिक नभए पनि यसले दर्शकमाझ क्रेज पैदा गरिसकेको छ । निर्माणपक्षका अनुसार विभिन्न देशबाट फिल्मको अधिकार विक्रीका लागि कुराकानी भइरहेको छ भने केही देशमा अधिकार विक्री भइसकेको छ ।


ताजा खबर