स्टलुक सार्वजनिक भएसँगै चलचित्र ‘दुखी आत्मा’को विदेशी बजारमा माग उल्लेखनीय रूपमा बढेको छ। दीपेन्द्र लामाको निर्देशनमा बनेको यो सिनेमाको जापान वितरण अधिकार यूएनए इन्टरटेन्मेन्टले खरिद गरेको छ।
यूएनएका प्रमुख उज्ज्वल गुरागाँइका अनुसार ‘दुखी आत्मा’ जापानमा उच्च माग रहेको कारण यो चलचित्रलाई खरिद गरिएको हो। तर, निर्माण टिमले कति रकममा सिनेमाको अधिकार विक्री भएको भन्ने विवरण खुलाएको छैन।
‘दुखी आत्मा’मा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, बुद्धि तामाङ, रेअर राई, लोकेन्द्र लेखक र आशान्त शर्मा जस्ता कलाकारहरूको अभिनय रहेको छ।
नेपालमा आगामी फागुन २ गतेबाट प्रदर्शनमा आउन लागेको यो ‘दुखी आत्मा’को जापानमा पनि सोही मितिमा रिलिज गरिने यूएनए इन्टरटेन्मेन्टले जनाएको छ।
चलचित्रका कार्यकारी निर्माता सुदिप ढकाल र लगानीकर्ता हिमाल कडरिया हुन्। क्लक वर्क क्रियशनको ब्यानरमा निर्माण भएको यो चलचित्र आलोक शुक्लाले खिचेका हुन् भने निमेष श्रेष्ठले सम्पादन गरेका छन्।
निर्माण टिमका अनुसार यो चलचित्रको माग अन्य देशहरूबाट पनि भइरहेको छ। निर्माता हिमाल कडरियाका अनुसार केही दिनमै अधिकांश देशमा चलचित्रको वितरण अधिकार विक्री हुने अपेक्षा छ।