सौगात र गरिमाको जोडी बाँधिने ‘जन्ते बाख्रो’को मुहूर्त

निर्देशक सिमोस सुनुवारको नयाँ फिल्म ‘जन्ते बाख्रो’को मुहूर्त सम्पन्न भएको छ। शुक्रबार काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा मुहूर्त गरिँदै फिल्मको छायांकन पौष २० गतेबाट सुरु गरिने जानकारी दिइएको छ।

मुहूर्त समारोहमा मुख्य कलाकार सौगात मल्ल र गरिमा शर्माले मुहूर्त सट दिएका थिए। सौगात र गरिमासँगै फिल्ममा आशिफ शाह, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, र कुशल गजमेरलगायतका कलाकारले अभिनय गर्नेछन्।

मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहने यो फिल्म कमेडी कथावस्तुमा आधारित छ। प्रदीप भारद्धाजले कथा, पटकथा र संवाद लेखेका छन् भने सन्तोष गौतम फिल्मका निर्माता हुन्।

फिल्मको नाम ‘जन्ते बाख्रो’ परम्परागत नेपाली चलनसँग जोडिएको छ। विशेषतः बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने गरिन्छ।

फिल्मको छायांकन हरि हुँमागाईले गर्नेछन्। निर्देशक सिमोस सुनुवारको यो नयाँ फिल्म दर्शकलाई मनोरञ्जन दिन तयार छ।


ताजा खबर