धीरज र मिरुनालाई लिएर ‘कुस्ती’ निर्माण घोषणा, निर्माता बन्दै बुद्धि तामाङ

कलाकार बुद्धि तामाङको निर्माणमा बन्ने नयाँ फिल्म ‘कुस्ती’ घोषणा गरिएको छ। अनिल योञ्जनको लेखन तथा निर्देशनमा तयार हुने फिल्ममा धीरज मगर र मिरुना मगर मुख्य भूमिकामा छन्। उनीहरुको यो पहिलो सहकार्य हो ।

फिल्मको सार्वजनिक पोस्टरमा धीरज मगर लाइट पिङ्क ड्रेसमा र मिरुना मगर लाइट ग्रीन ड्रेसमा देखिएका छन्। निर्देशक योञ्जनका अनुसार फिल्म एक जोडीको प्रेम कथा हो, जहाँ उनीहरू एकअर्कालाई माया गर्दागर्दै पनि स्वभावका कारण कठिनाइ सामना गरिरहेका छन्।

फिल्ममा धीरज र मिरुनासँगै बुद्धी तामाङको पनि अभिनय रहने छ । कलाकार तामाङले पहिलो पटक सिनेमा निर्माण गर्न लागेका हुन् । 

अनुषा सिनेमावुड पिक्चर्सको ब्यानरमा बन्ने फिल्म आगामी वर्ष २०८२ भाद्रमा प्रदर्शन हुने बताइएको छ। बुद्धि तामाङले राम्रो कथा र अनुभवी टिमको कारण निर्माणमा हात हालेको बताएका छन्। उनले छुटिन नसक्ने र सँगै रहन पनि नसक्ने जोडीको प्रेम कथा ‘कुस्ती’ रहेको बताए ।


ताजा खबर