पुस २६ गते रिलिज हुन लागेको चलचित्र ‘कार्साङ’को ट्रेलर सार्वजनिक भएसँगै नेपाली सिनेप्रेमीहरूबीच निकै चासोको विषय बनेको छ।
समाज, संस्कृति र परिवारको गहिरो कथा प्रस्तुत गरिएको यो चलचित्रको ट्रेलर सार्वजनिक भएको २४ घण्टामै युट्युबको ट्रेन्डिङमा परेको छ। हाल यो चलचित्रको ट्रेलर नेपाल ट्रेन्डिङको नम्बर २ स्थानमा पुगेको छ।
ट्रेलर छोटो समयमा नै व्यापक लोकप्रियता कमाएको हो । यो ट्रेन्डिङले यस चलचित्रप्रति दर्शकको अपेक्षा र उत्सुकता बढ्दै गएको स्पष्ट भएको छ।
३ मिनेट ९ सेकेन्ड लामो ट्रेलरमा मुख्य पात्र दयाहाङ राईलाई समाजले पानीबाट काढ्ने चेतावनी दिएको दृश्यले सुरु हुन्छ। यसपछि झाँक्री विद्यामा समाजले गर्ने विश्वास, पारिवारिक द्वन्द्व, आर्थिक समस्या, र समाजले गरेको बहिष्कारको चित्रण गरिएको छ।
चलचित्रले अन्धविश्वास र सामाजिक परम्पराले परिवारमा ल्याएको फाटो, समाजको दबाबका कारण उत्पन्न हुने समस्याहरू, र मुख्य पात्रले आफ्नो स्वाभिमान र परिवारको लागि गर्ने संघर्षलाई प्रस्तुत गरेको छ।
निर्देशक यम शेर्पाको डेब्यु निर्देशनमा तयार भएको यो चलचित्र ग्रामीण परिवेशमा आधारित छ। निर्देशकका अनुसार चलचित्रले अभाव, गरिबी र शेर्पा समुदायको सांस्कृतिक कथालाई पर्दामा उतारेको छ। यसका साथै, सबै वर्ग र समुदायका दर्शकले चलचित्रसँग आफूलाई जोड्न सक्ने विश्वास पनि निर्माण पक्षले व्यक्त गरेको छ।
चलचित्रमा दयाहाङ राई, सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायतका कलाकारहरूको अभिनय रहेको छ।
‘कार्साङ’ यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्सको प्रस्तुति हो। चलचित्रका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् भने सह-निर्मातामा गोविन्द बोहरा छन्। कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पाले भूमिका निर्वाह गरेका छन्।
यस पारिवारिक कथानक चलचित्रले दर्शकको मन जित्ने निर्माण पक्षको विश्वास छ।