काठमाडौं । माघ २५ गतेदेखि प्रदर्शनमा आउन लागेको हरर फ्यामिली ड्रामा चलचित्र ‘ममी’को पहिलो गीत सार्वजनिक गरिएको छ । निर्माण टिमले सोमबार एक कार्यक्रमको आयोजना गर्दै ‘म त यसै नक्कली’ बोलको गीत रिलिज गरेको हो ।
सार्वजनिक गीतमा समीक्षा अधिकारी र विज्ञानी पराजुलीले स्वर दिएका छन् । गीतका शब्द हर्क साउदले लेखेका हुन् भने संगीत एसडी योगीले दिएका छन् ।
विक्रम स्वारले कोरियोग्राफी गरेको भिडियोमा मुख्य कलाकार दीया मास्के र प्रियंका कार्कीको नृत्य देख्न सकिन्छ । प्रियंका र दीयाको प्रस्तुति दर्शकलाई आकर्षित गर्ने खालको रहेको छ ।
सार्वजनिक गीतले दर्शकलाई झुमाउनुका साथै चलचित्रप्रतिको कौतुहलता बढाउने खालको रहेको छ ।
चलचित्र ‘ममी’मा दीया र प्रियंकासँगै सुलक्षण भारती, समिप निरौला, आयुषी ढकाल, जेभिस श्रेष्ठ र घनश्याम जोशी लगायतका कलाकारहरूको अभिनय रहेको छ।
यो चलचित्रको लेखन पूर्णिमा जोशी र समर निरौलाले गरेका हुन् भने निर्देशनको जिम्मा समर निरौलाले लिएका छन् ।
लोकराज जोशी र पूर्णिमा जोशीको संयुक्त लगानीमा बनेको चलचित्रमा सुमन कोइराला कार्यकारी निर्माताको भूमिकामा छन् ।
‘ममी’को छायांकन निशाल पौडेल र शरद महत्तोले गरेका हुन् भने सम्पादन सुरेन महर्जनले गरेका छन् ।