पुस २६ गते रिलिज हुने बहुप्रतीक्षित नेपाली चलचित्र ‘कार्साङ’को अग्रिम टिकट बुकिङ खुला भएको छ। देशकै प्रमुख मल्टिप्लेक्स चेन क्यूएफएक्सलगायत केही हलहरूले यो चलचित्रको ‘एडभान्स’ टिकट बुकिङ सुरु गरेका हुन्।
काठमाडौं उपत्यकामा क्यूएफएक्सले चलचित्रलाई २५ शो उपलब्ध गराएको छ भने काठमाडौं बाहिरका स्टेशनहरूमा पनि समान २५ शो पाएको छ । यसलाई नेपाली चलचित्रका लागि राम्रो सुरुवातको रूपमा हेरिएको छ।
चलचित्रले एफक्यूब मल्टिप्लेक्समा ६ शो पाएको छ भने अन्य हलहरूले पनि चाँडै बुकिङ खुला गर्ने तयारीमा छन् । दर्शकको माग अनुसार शो थपिने अपेक्षा गरिएको छ।
‘कार्साङ’ ग्रामीण परिवेशमा आधारित पारिवारिक कथा प्रस्तुत गर्ने चलचित्र हो। यसले अभाव, गरिबी, र शेर्पा समुदायको सांस्कृतिक कथालाई सशक्त रूपमा उठान गर्ने निर्देशक यम शेर्पाले बताएका छन्। निर्माण पक्षले यो चलचित्रले दर्शकको मन जित्नेमा पूर्ण विश्वास व्यक्त गरेको छ।
चलचित्रमा दयाहाङ राई, सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितजस्ता लोकप्रिय कलाकारहरूको अभिनय रहेको छ।
यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्सको प्रस्तुतिमा बनेको यो चलचित्रका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन्। सह-निर्माताको रूपमा गोविन्द बोहराले काम गरेका छन् भने कार्यकारी निर्माता आङछिरिङ शेर्पा रहेका छन्।