प्रिमियरमा ‘कार्साङ’ले पायो उत्साहजनक प्रतिक्रिया

चलचित्र ‘कार्साङ’ले उत्साहजनक प्रतिक्रिया पाएको छ । चलचित्रकर्मीबाट सिनेमाले उत्साहजनक प्रतिक्रिया पाएको हो ।

बुधबार साँझ गरिएको प्रिमियरमा उपस्थित कलाकार तथा अन्य विभिन्न क्षेत्रका व्यक्तिले ‘कार्साङ’लाई हेर्नैपर्ने मौलिक चलचित्र भनेका छन् ।

शेर्पा समुदायको मौलिक कथा भन्ने चलचित्रले उनीहरूको संस्कार र संस्कृति देखाउन नचुकेको कलाकारहरूले बताएका छन् । शेर्पा समुदायको संस्कृति अनुभूत गर्न पनि यो सिनेमा हेर्नैपर्ने प्रिमियरपछि प्रतिक्रिया दिनेले बताएका छन् ।

चलचित्र हेर्न चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, निर्देशक तथा कलाकार दीपाश्री निरौला, निर्देशक दीपेन्द्र के खनाल, वितरक, निर्माता तथा निर्देशक अशोक शर्मा, बसन्त निरौला, कलाकार केदार घिमिरे ‘माग्ने बुढा’, हास्य कलाकार किरण केसी (रातामकै), कवि विप्लव प्रतीक, कलाकार अनुप बराल, मनिष राउत, गायक कमल खत्री, मेलिना मैनाली लगायत कलाकार प्रिमियरमा पुगेका थिए ।

अभावमा बाँचिरहेको व्यक्ति आफ्नौ गाउँ, समाज र आफन्तबाट कसरी तिरस्कृत हुन्छन् भन्ने यो चलचित्रले देखाएको छ । अभाव र दुःखमा बाँच्ने व्यक्तिलाई आफ्नो संस्कार जोगाउन कति कठिन छ भन्ने यो चलचित्रले देखाउने भन्दै यो बुझ्न र अनुभूत गर्न पनि ‘कार्साङ’ हेर्नुपर्ने प्रतिक्रिया प्रिमियरबाट आएको छ ।

‘कार्साङ’ हेरेपछि दिनेश डिसीले ‘कार्साङ’ यथार्थपरक सिनेमा रहेको बताए । उनले भने, ‘यो चलचित्र यथार्थपरक छ । सबै फिल्मको आ-आफ्नो जनरा हुन्छ । ‘कार्साङ’को जुन जनरा छ, त्यसमा राम्रोसँग चरित्र निर्माण गरिएको छ । र, गहिराइमा गएर कथा भनिएको छ । त्यो हिसाबले सिनेमा एकदमै राम्रो छ ।’

हास्य कलाकार केदार घिमिरेले भने जितु नेपालको बढी प्रशंसा गरे । ‘जितु दाई एकदमै फरक देखिनुभएको रहेछ । क्यारेक्टर गजबकै बनाउनुभएको रहेछ,’ उनले भने, ‘हामीले सँगै धेरै काम गर्‍यौं तर उहाँलाई यस्तो फरक चरित्रमा पहिलो पटक नै देखेको हुँ । मलाई उहाँको क्यारेक्टर र अभिनय राम्रो लाग्यो । सिनेमाको अन्तिमसम्म पुग्दा त झन् अचम्मै परिवर्तन देखिन्छ ।’

दीपाश्री निरौलाले शेर्पा समुदायको संस्कृतिलाई सिनेमाले जीवन्त रुपमा प्रस्तुत गरेको धारणा व्यक्त गरिन् । उनले पनि जितुको प्रशंसा गर्न छुटाइनन् । ‘जितुको क्यारेक्टर एकदमै रमाइलो छ । र, फरक पनि देखिएको छ,’ उनले भनिन् । केही कुरासँग लगाव र आत्मीयता कस्तो हुन्छ भन्ने पनि फिल्मले महसुस गराएको उनको भनाइ थियो ।

चर्चित पत्रकार टीकाराम यात्रीले ‘कार्साङ’लाई समाजको विविधतालाई बुझ्ने आँखीझ्यालको रुपमा परिभाषित गरे । ‘सिनेमा भनेको २ घण्टासम्म मनोरञ्जनको विषय मात्र रहेन । नेपाली समाजको विविधतालाई बुझ्ने एउटा आँखीझ्याल पनि बन्न सक्छ भन्ने कुरा ‘कार्साङ’ले प्रमाणित गरेको छ । यसमा शेर्पा समुदायको संस्कृतिलाई सुन्दर ढंगले देखाइएको छ,’ उनले भने ।

विषयवस्तु र अभिनय दुवैको तारिफ पाएकाले दर्शकले सिनेमा मन पराउनेमा निर्माणपक्ष ढुक्क छ ।

बुधबार सिटी सेन्टर काठमाडौंमा आयोजना गरिएको प्रिमियरमा शेर्पा समुदायको बस्तीमा पुगेको झल्को दिन्थ्यो । शेर्पा समुदायको नृत्यसँगै गुम्बा झैँ धजापताकाले सजाइएको सिनेमा हलको वेटिङ कक्षले भिन्न माहोल तयार पारेको थियो ।

पुस २६ गते रिलिज हुने चलचित्र ‘कार्साङ’ यम शेर्पाले निर्देशन हो । ‘कार्साङ’ ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तुमा केन्द्रित रहेको छ ।

चलचित्रले अभाव, गरिबी र शेर्पा समुदायको सांस्कृतिक कथावस्तुलाई प्रस्तुत गर्नेछ । यो चलचित्रले दर्शकको मन जित्न सफल हुने विश्वास निर्माण पक्षको छ ।

चलचित्र ‘कार्साङ’मा दयाहाङ राई, सिर्जना निङलेखुसँगै जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायत कलाकारको अभिनय रहेको छ ।

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो चलचित्रका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् । सह–निर्मातामा गोविन्द बोहरा छन् । कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पाले काम गरेका छन् ।


ताजा खबर