काठमाडौं । नेपाली चलचित्र ‘तेल भिसा’ले प्रदर्शनको ५१ औँ दिन मनाएको छ। मंसिर ७ गतेदेखि प्रदर्शनमा आएको यो चलचित्रले आजको दिनसम्म लगातार प्रदर्शनमा रहँदै यो उपलब्धि हासिल गरेको हो।
चलचित्रका वितरक करण श्रेष्ठका अनुसार, ‘तेल भिसा’ले १२ वटा सिनेमा हलमा ५१ औँ दिन मनाएको छ। सिनेमाका प्रस्तुतकर्ता ऋचा घिमिरे र निर्देशक शंकर घिमिरेले चलचित्रको यो सफलतामा साथ र समर्थन गर्ने सम्पूर्ण दर्शक तथा शुभचिन्तकहरूलाई धन्यवाद दिँदै आफ्नो खुशी व्यक्त गरेका छन्।
सिनेमाले दर्शक र समीक्षकहरूबाट राम्रो प्रतिक्रिया पाएको छ। यसले क्यूएफएक्स, एफक्यूब, रञ्जना सिनेप्लेक्स, बीएसआर मुभिज, वान सिनेमाज, डीम्याक्स सिनेमाज, फ्रेन्डस सिनेमाज, र सिने रोयलजस्ता मल्टिप्लेक्सहरूमा प्रदर्शनको ५१ औँ दिन मनाएको हो।
दक्षिण भारतीय चलचित्र ‘पुष्पा २’का कारण सीमित शो पाएको भए पनि ‘तेल भिसा’लाई दर्शकहरूको साथले पाँचौं हप्तामा पनि थप शो पाउन सहयोग गरेको थियो।
शंकर घिमिरेले निर्देशन र लेखन गरेको यो चलचित्रमा विपिन कार्कीले बाबु र छोराको दोहोरो भूमिका निभाएका छन्। उनको साथमा वर्षा राउत, पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती लगायतका कलाकारहरूको उत्कृष्ट अभिनय देख्न सकिन्छ।
वेलडन क्रियसनको व्यानरमा निर्माण भएको चलचित्र ऋचा घिमिरेको प्रस्तुती हो। यसमा अनिल पाण्डे र शिवराज कार्कीको लगानी रहेको छ। प्रिन्स युवराज कार्की र श्रुति दाहाल कार्यकारी निर्माताका रूपमा छन्।
चलचित्रमा सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्धाजको संगीत, र अजय खड्काको सम्पादन रहेको छ।