थ्रिलर कथावस्तु रहेको चलचित्र ‘खेल’को पोस्टर सार्वजनिक, वैशाख १२ मा प्रदर्शन हुने

काठमाडौं । बहुप्रतीक्षित नेपाली चलचित्र ‘खेल’को पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले प्रदर्शन मिति घोषणा गरेको छ। अनुराग प्रधान र आस्था श्रेष्ठको संयुक्त निर्देशनमा तयार भएको यो सिनेमा २०८२ सालको वैशाख १२ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ।

निर्देशक प्रधान र श्रेष्ठले यसअघि बलिउडका दर्जनभन्दा बढी चलचित्रमा सह-निर्देशन गरेका छन्। उनीहरूको यो संयुक्त निर्देशनमा बनेको पहिलो नेपाली चलचित्र हो। चलचित्रमा अभिनेत्री सुरक्षा पन्त प्रमुख भूमिकामा रहेकी छिन्। साथै, हेना नगरकोटी, मोनिका थापा, समापिका गौतम र निकिता आचार्यको पनि मुख्य भूमिका रहेको छ।

चलचित्रमा भोला राज सापकोटा, मिथिला शर्मा, सरिता गिरी, किरण श्रेष्ठ, सुहानी खड्का, भवन घिमिरे, सुजन घिमिरे लगायतको अभिनय रहेको छ।

चलचित्रको सार्वजनिक पोस्टर रहस्य र थ्रिलरले भरिएको छ। पोस्टरले विद्यालय जीवनका किशोरीहरूको कथा प्रस्तुत गर्ने संकेत दिएको छ। अभिनेत्री सुरक्षा पन्त पोस्टरको केन्द्रमा छन्, जसले उनको चरित्रको महत्त्वलाई उजागर गरेको छ। पाँच कोणीय तारा, अन्धकार वातावरण, र पोस्टरमा उल्लेखित ‘Been 6 years, still missing’ जस्ता तत्त्वहरूले चलचित्र रहस्य, डर, र थ्रिलर विधासँग सम्बन्धित रहेको देखाउँछ।

पोस्टरमा देखिएको गितार, पुरानो बस, र त्यसबाट निस्किएको प्रकाशले कथामा थप रोमाञ्चकता थपेको छ। चलचित्रले नेपाली लोककथा, परम्परा, र अध्यात्मलाई थ्रिलर र सस्पेन्स माहौलसँग जोड्दै चार साथीहरूको जीवनको भयानक घटनाको कथा समेटेको छ।

चलचित्रको कथा आशिषराज महर्जनले तयार गरेका हुन्। यसमा चार जना साथीहरूको जीवनमा अध्यात्ममा आधारित खेलले ल्याएको डरलाग्दो मोडलाई देखाइएको छ।

अभिनेत्री सुरक्षा पन्तले यो चलचित्रमा गुणस्तरीय काम गर्न पाएकोमा खुसी व्यक्त गरेकी छिन्। उनले भनिन्, “यो साथीहरूको टिमको कथा हो, जसले खेलको माध्यमबाट आफ्नो विगतका डरलाई सामना गर्नुपर्छ। मैले यो टिमको प्रमुख पात्रको रूपमा काम गरेकी छु। कथामा अध्यात्म र थ्रिलरको समिश्रण छ।”

निर्माण टिमका अनुसार यो चलचित्रलाई विश्वका ठूला चलचित्रहरूसँग प्रतिस्पर्धा गर्न सक्ने प्रविधिमा तयार पारिएको छ। निर्माणका लागि नेपालमा उपलब्ध नभएका केही क्यामेरा लेन्स र उपकरणहरू भारतबाट ल्याइएको हो।

सिरुपाते कट्स प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता लुइसराज महर्जन हुन्। निर्माता आशिषराज महर्जनसँगै सह निर्मातामा कुनालराज गुरुङ र रहिशराज महर्जन छन्।

चलचित्रको पटकथा अभितेन्द्र र अनुराग प्रधानले लेखेका हुन् भने संवाद विष्णु गैरेले तयार पारेका छन्। छायाङ्कन रोशन राई र सञ्जय लामाले गरेका छन्। सम्पादन आशिषराज महर्जनको रहेको छ। ध्वनि डिजाइन विकल प्रधान, रङ्ग संयोजन राजेन्द्र मोक्तान, प्रोडक्सन डिजाइन किशोर नेपाल, कस्ट्युम डिजाइन एलेक्स बसुकला, र मेकअप दिपु पौडेलले गरेका छन्।

चलचित्रको वितरण डिसिएनले गर्नेछ भने पब्लिसिटी ट्राइडेन्ट कन्सेप्टले गर्ने जिम्मा लिएको छ।


ताजा खबर