‘दुखी आत्मा’ फिल्मबारे दयाहाङ राई भन्छन् – यौन स्वास्थ्यको कथा भन्न जरुरी छ

फागुन २ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘दुखी आत्मा’ को टिजर, ब्रेकअप कविता र ट्रेलरले दर्शकमाझ चर्चा पाइरहेको छ। फिल्मको प्रचार सामग्री बाहिर आएपछि यसलाई लिएर विभिन्न कोणबाट प्रतिक्रिया व्यक्त भइरहेको छ।

कतिपयले नायक दयाहाङ राई ले यस्तो विषयवस्तु समेटिएको फिल्म किन रोजे भनेर प्रश्न उठाएका छन् भने, केहीले फरक धारको कथा रोजेकोमा उनको प्रशंसा गरेका छन्। ट्रेलरलाई लिएर सकारात्मक र नकारात्मक दुवै किसिमका धारणा आएका छन्।

दयाहाङ भन्छन्, “मानसिक स्वास्थ्यको विषयमा मात्र होइन, यौन स्वास्थ्यबारे पनि खुलेर कुरा गर्न जरुरी छ।” उनी थप्छन्, “हाम्रो समाजमा यौनलाई अझै गोप्य रूपमा राखिन्छ, तर यो चासोको विषय हो। भारतमा पनि ४० वर्षअघि मात्र यौन स्वास्थ्यसम्बन्धी कथाहरू फिल्ममा देखाउन थालिएको थियो। अब हामीले पनि यो विषयमा जानकारी दिनुपर्छ।”

फिल्म खेल्ने निर्णय गर्दा आफूलाई कुनै अप्ठ्यारो नभएको उनले प्रस्ट्याए। “कतिपय साथीहरूले किन यस्तो फिल्म खेलेको भनेर सोध्नुहुन्छ, तर मलाई त कुनै असहज महसुस नै भएन। कलाकारका लागि यो व्यक्तिगत निर्णय हो। यसपालि मेरो फिल्म सपरिवार हेर्न जान गाह्रो होला, तर अलग-अलग गएर हेर्ने हो,” उनले भने।

दयाहाङले स्वस्थ समाज निर्माणका लागि यौन स्वास्थ्य जस्ता विषयहरूबारे पनि खुलेर कुरा गर्नुपर्ने बताए। “यो फिल्मले उठान गरेको विषय केवल ट्रेलर वा टिजरमा देखिएको भन्दा धेरै फरक छ। कथावस्तु निकै गहिरो छ।”

दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको फिल्ममा दयाहाङ राईसँगै आँचल शर्मा, अनुप विक्रम शाही, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय छ।

फागुन २ गतेदेखि ‘दुखी आत्मा’ देशभरका हलहरूमा प्रदर्शन हुँदैछ।


ताजा खबर