‘द्रोपदी’को ‘कर्णाली काटौला’ बोलको गीत सार्वजनिक

काठमाडौं । चैत ८ गते  प्रदर्शनको तयारीमा रहेको ‘द्रोपदी’को ‘कर्णाली काटौला’ बोलको गीत सार्वजनिक गरिएको छ । बिहीबार नयाँ बानेश्वरस्थित वान सिनेमा हलमा कार्यक्रम गर्दै रबि ओड र इन्द्रकला राईले गाएको सो गीत दर्शक माझ ल्याइएको हो ।

निर्देशक ऋषिराज आचार्यको शब्द र रबि ओडको संगीत रहेको गीतमा डेब्यु अभिनेत्री आश्वीनी शाही, निर्देशक ऋषिराज स्वयम्, गायक रबि र सुजाता तिमिल्सीना प्रेमील भावमा प्रस्तुत भएका छन् । 

डोल्पाको शे फोक्सुन्डो ताललगायत कर्णालीको विभिन्न रमणीय स्थलमा छायांकन गरिएको फिल्मको गीतको कोरियोग्राफी विष्णु ठडराईले गरेका छन् । 

निर्माण क्रमदेखि नै चर्चामा रहेको फिल्मको प्रेसमिटमा निर्देशक आचार्यले आफूले अत्यन्तै मौलिक विषयवस्तुमा फिल्म निर्माण गरेको बताए । उनले कथाको मागअनुसारनै फिल्ममा नव कलाकारहरूको वर्चस्व रहन गएको जानकारी दिए । अन्तर्राष्ट्रिय बजारलाई समेत दृष्टिगत गरिएको फिल्मको गीतमा कर्णालीको सौन्दर्ययता झल्किएको छ ।

डेब्यु अभिनेत्री आश्वीनी शाहीले `द्रौपदी´ बाट आफू निकै आशावादी रहेको बताइन । करिब ४ सय जना आवेदकहरू मध्येबाट द्रौपदीको भूमिकाका लागि छनौट भएकी आश्वीनीले निकै मिहिनेतका साथ अभिनय गरेको स्मरण गरिन । फिल्मको छायांकन डोल्पामा करिब डेढ महिनासम्म गरिएको थियो । कार्यक्रममा गायक-गायिका रबि र इन्द्रकलाले गीत गाउँदा माहौल प्रेमील बनेको थियो । यही फिल्मबाट ठूलो पर्दाको अभिनयमा डेब्यु गरेका गायक रबिले आफूले पाएको चरित्र र भूमिकामा न्याय गर्ने कोसिस गरेको बताए । उनले आफूलाई मन परेको र गर्न सक्छु भन्ने लागेकाले अभिनय गरेको प्रस्ट पार्दै आफू सुहाउँदो भूमिका पाएमा अभिनयलाई निरन्तरता दिने बताए ।

निर्माता तथा अभिनेता प्रकाश ज्ञवालीले फिल्मले मौलिक नेपाली कथा बोकेको बताउँदै यस प्रकारका विषय प्रचुरताका साथ पर्दामा उतारिनु पर्नेमा जोड दिए । त्यसैगरि,अर्का अभिनेता कबिराम भामले पनि मौलिक फिल्म निर्माणमा जोड दिनु पर्ने राय राखे । अर्की डेब्यु अभिनेत्री सुजाता तिमिल्सिनाले सुटिङका क्रममा आफू दुर्घटनामा परेको स्मरण गर्दै बिकट भौगोलिक अवस्थाका कारण निकै कष्टपूर्वक सुटिङ गर्नु परेको बताइन । 

`द्रौपदी´ बाट पर्दाको यात्रा सुरु गरेकी पहिलो संविधान सभाकी  सभासद सीता बौडेलले राजनीति र अभिनय बिलकुल फरक क्षेत्र भएको अनुभव सुनाउँदै दुवैमा आ-आफ्नै प्रकारको लगाव र मिहिनेत चाहिने धारणा राखिन । उनले `द्रौपदी´ जस्ता मौलिक फिल्म निर्माणमा स्रष्टाहरुले चासो दिनुपर्ने बताइन ।

८ चैतबाट देशव्यापी प्रदर्शनमा आउने फिल्ममा आश्वीनी,रबि ओड, कबिराज , जेल्सन अधिकारी, सुजाता तिमल्सिना , विष्णु ठडराई (सुवास), प्रकाश ज्ञवाली ,सीता बौडेल, सुरज अधिकारी र ऋषिराज मुख्य भूमिकामा छन् । निर्देशक ऋषिराजकै लेखन,गीत अनि निर्माण रहेको फिल्मको सम्पादन अनिल महर्जनले गरेका हुन । सौरभ शर्माको पार्श्व संगीत रहेको फिल्म मोहनकुमार झिल्लुले खिचेका हुन  ।

आर बि मुभिजको ब्यानरमा बनेको  फिल्मको सह निर्मातामा ऋतु आचार्य र विष्णु ठडराई छन् । फिल्मलाई एप्पल इन्टरटेन्टमेन्ट ,एफ डि कम्पनी र रिच इन्टरटेन्टमेन्टले संयुक्त रूपमा वितरण गर्दैछ ।


ताजा खबर