काठमाडौं । फागुन २ गते अर्थात् भ्यालेन्टाइन डे (प्रणय दिवस) को अवसर पारेर शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रंगी’लाई प्रिमियरमा सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ ।
बुधबार साँझ राजधानीमा आयोजना गरिएको ग्राण्ड प्रिमियरमा उपस्थित सिनेकर्मीले चलचित्रको कथावस्तु, कलाकारको अभिनय र प्राविधिक पक्षको तारिफ गरेका थिए ।
सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको यो चलचित्र विशेषत बाबुछोरीको सम्बन्धमा आधारित छ । अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको ‘रंगी’ मा सलोनकै डेब्यू निर्माण रहेको छ भने निर्देशन सुरेश न्यौपानेले गरेका छन् ।
चलचित्र हेरेपछि निर्देशक दीपाश्री निरौला, कलाकार निर्मल शर्मा, दीपक आचार्य ‘काकु’, कमेडियन भरतमणि पौडेल, कोरियोग्राफर गम्भीर विष्ट, निर्देशक ज्ञानेन्द्र देउजालगायतले चलचित्र उत्कृष्ट रहेको प्रतिक्रिया दिए । विशेषगरी, बाबुछोरीको सम्बन्धलाई भावनात्मक तरिकाले प्रस्तुत गरिएको भन्दै प्रशंसा गरिएको छ ।
चलचित्रमा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय रहेको छ ।
चलचित्रको कथा सुमन गजमेरले लेखेका हुन् । छायांकन सौरभ लामाले गरेका छन् भने सम्पादन बन्दे प्रसादको रहेको छ ।
चलचित्रको संगीत पक्षलाई पनि निकै सशक्त मानिएको छ । दुर्गेश थापा, आमेश भण्डारी, भीम बिसीको संगीत रहेको चलचित्रमा आनन्द कार्की, समीक्षा अधिकारी, सुजता केसीलगायतका गायकगायिकाले स्वर दिएका छन् । चलचित्रको कोरियोग्राफी कविराज गहतराज र शिशिर खातीले गरेका हुन् ।
‘रंगी’लाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछ। अब हेर्न बाँकी छ, दर्शकले यस चलचित्रलाई कत्तिको मन पराउँछन् ।