‘भाईरल गोर्खे’ को फर्स्टलुक सार्वजनिक, जेठ ३० मा प्रदर्शन हुने

काठमाडौं । अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘भाईरल गोर्खे’ को फर्स्टलुक सार्वजनिक भएको छ ।

निर्माण टिमले शुक्रबार प्रणय दिवस (भयालेनटाइन डे) को अवसर पारेर यो सिनेमाको पहिलो झलक सार्वजनिक गर्दै प्रदर्शन मिति पनि घोषणा गरेको हो ।

निगम श्रेष्ठको निर्देशनमा बनेको चलचित्र ‘भाईरल गोर्खे’ आगामी वर्षको जेठ ३० गतेबाट प्रदर्शनमा आउने जानकारी दिइएको छ । सार्वजनिक पहिलो झलकमार्फत् सिनेमाको कथा सामाजिक सञ्जालमा भाइरल हुने प्रवृत्तिमाथि केन्द्रित रहेको संकेत गरिएको छ ।

यो सिनेमाले सामाजिक सञ्जालको प्रभाव, भाइरल प्रवृत्ति र यसको मनोवैज्ञानिक असरलाई दर्शाउन खोजेको बुझाउँछ ।

सार्वजनिक एक पोस्टरमा अभिनेता मल्ललाई भाईरल भएपछि सामाजिक सञ्जालमा लाइभ बसेको अवस्थामा देख्न सकिन्छ । अर्को पोस्टरमा भने उनी अभिनेत्री सृष्टि श्रेष्ठसँग रोमान्टिक अवतारमा देखिएका छन् ।

निर्देशक श्रेष्ठका अनुसार चलचित्र ‘भाईरल गोर्खे’ले पछिल्लो समयमा नेपालमा मौलाउँदै गएको भाइरल प्रवृत्तिलाई व्यंग्य गर्दै यसका प्रभाव र परिणाम उजागर गर्नेछ ।

‘नेपालमा सामाजिक सञ्जालको प्रयोग र प्रभाव तीव्र रूपमा बढ्दै जाँदा भाइरल हुने नाममा जे पनि गर्ने प्रवृत्ति हावी हुँदै गएको छ,’ निर्देशक श्रेष्ठले भने, ‘हाम्रो सिनेमा यही विषयमा केन्द्रित छ र यसका प्रभावलाई देखाउने प्रयास गरिएको छ ।’

द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको व्यानरमा निर्माण भएको यस चलचित्रमा सौगात र सृष्टिसँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल मुख्य भूमिकामा रहेका छन् । सिनेमामा पत्रकार ऋषि धमलाले पनि अभिनय गरेका छन् ।

चलचित्र ‘भाईरल गोर्खे’का निर्माता विशाल ताम्राकार, महेश लामिछाने, केवल जंग कुँवर हुन् भने भुवन अधिकारी र निखिल पौडेल सह-निर्माताको भूमिकामा रहेका छन् ।

अमर महर्जनको छायांकन रहेको ‘भाईरल गोर्खे’ लम्जुङको भुजुङ गाउँ, गोरखा र चितवनका विभिन्न स्थानमा छायांकन गरिएको हो ।


ताजा खबर