प्रिमियरमा ‘दुखी आत्मा’को कथावस्तुलाई लिएर गज्जबको प्रतिक्रिया

काठमाडौं । बिहिबार आयोजना भएको प्रिमियरमा गज्जब तर फरक प्रतिक्रिया पाएको चलचित्र ‘दुखी आत्मा’ आजबाट देशभरका हलमा रिलिज भएको छ ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रको प्रिमियरमा फिल्मीकर्मी, विभिन्न क्षेत्रका व्यक्तिहरु तथा पत्रकारहरुको बाक्लो उपस्थिती थियो ।

हिमाल कडरियाको निर्माण तथा सुदिप ढकाल कार्यकारी निर्माता रहेको यो चलचित्रमा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, वुद्दि तामाङ, पुस्कर गुरुङ, कविता आले, रेअर राई लगायतका कलाकारहरुको अभिनय छ ।

प्रिमियरमा चलचित्रको कथावस्तुलाई लिएर धेरैले गज्जबको प्रतिक्रिया दिए । युवापुस्ताका दर्शकलाई यो फिल्मले हलसम्म तान्ने अधिकांशको भनाई थियो ।

चलचित्रले ‘इडी’ रोग लागेका व्यक्तिहरुको कथालाई प्रस्तुत गर्छ । चलचित्र हेर्नका लागि निर्देशक नविन सुब्बा, ज्ञानेन्द्र देउजा, सुयोग गुरुङ, दीपाश्री निरौला, कलाकार उषा रजग, कथा वाचक साइग्रेस पोखरेल, मोडल उषा उप्रेती लगायत हल पुगेका थिए ।

चलचित्रले उठान गरेको विषयवस्तु भन्न सकेकोमा अधिकांशले निर्देशक लामालाई बधाई दिए ।

चलचित्रको ट्रेलर र टिजर सार्वजनिक भएपछि धेरैले यसलाई एडल्ट कथावस्तुमा बनेको फिल्म भनेर वुझेका थिए । तर, चलचित्र हेरेपछि अधिकांशले यसको कथावस्तु, प्रस्तुति, संवाद, कलाकारहरुको अभिनयको तारिफ गरे । यो फिल्म सबै दर्शकले हेर्नुपर्ने तर्क उनीहरुको थियो ।

प्रेम दिवसको अवसर पारेर आजबाट रिलिजमा आएको चलचित्रले प्रेमको भाषालाई कविताको माध्यमबाट गज्जबले प्रस्तुत गरेको छ । साथै, समाजमा पुरुषहरुले लुकाएर राखेको आफ्नो यौन समस्यालाई खुलेर भन्न सकेको खण्डमा उपचार संभव रहेको तर्क पनि चलचित्रले प्रस्तुत गर्छ ।


ताजा खबर