चलचित्र ‘११:५५’ (डु नट ट्रस्ट एनिवन) को टिजर सार्वजनिक भएको छ।
अगामी चैत्र ८ गतेबाट प्रदर्शनमा आउने सिनेमाको आइतबार सार्वजनिक टिजरमा प्रेम, रोमान्स, धोका, बदला र रहस्यको कथा समेटिएको छ । जसले दर्शकमाझ उत्साह पैदा गर्ने देखिन्छ ।
टिजरको सुरुवातमै सावधानी सूचना राखिएको छ, जसमा भनिएको छ, ‘यो टिजर पूर्वावलोकन मात्र ती दर्शकहरूका लागि स्वीकृत गरिएको छ, जसलाई सिनेमामा रोमाञ्च र रहस्य मन पर्छ।’
केशव पाण्डेको लेखन तथा निर्देशनमा बनेको यो चलचित्र उनको डेब्यु निर्देशकिय सिनेमा हो। चलचित्रमा सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ, एमएस अग्रज, बुद्धि तामाङ, विशाल पहारी र डेब्यु अभिनेता सागर खनालको अभिनय रहेको छ।
सिनेमाको कथा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीले लेखेका हुन्।
चलचित्रमा अलल्मोडा राना उप्रेतीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन, राजेन्द्र मोक्तानको कलर, शैलेश श्रेष्ठको साउण्ड डिजाइन तथा मिक्सिङ, प्रद्युमन मिश्रको डिओपी, रामशरण उप्रेतीको सिनेमाटोग्रफी, पासाङ दावा शेर्पाको सम्पादन र सुवास राज काफ्ले प्रोडक्सन डिजाइनरको रूपमा रहेका छन्।
विचित्र फिल्मस् र गुड जब आर्ट्सको ब्यानरमा निर्माण भएको सिनेमामा श्याम शर्मा र सरोजा शर्माले लगानी गरेका छन् भने कार्यकारी निर्माता एमएस अग्रज रहेका छन्। सिनेमाको वितरण कुवेर सिने डिष्ट्रीब्युसन प्रालिले गर्नेछ।