‘यो मन त मेरो नेपाली हो’ असार २७ गते प्रदर्शन हुने

काठमाडौं । विदेशमा रहेका नेपालीहरूको मुद्दालाई उठान गरेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को प्रदर्शन मिति घोषणा गरिएको छ ।

चलचित्र २०८२ साल असार २७ गतेबाट देशभर प्रदर्शन हुने जानकारी सिनेमाका निर्माता ज्ञान बहादुर प्रधान (रोशन)ले दिएका छन् ।

यो सिनेमाले नेपाली भाषा, साहित्य, कला, यसको इतिहास, महत्व र नेपाली पहिचानको विषयलाई उठान गर्ने उद्देश्य राखेको निर्माणपक्षको भनाइ छ ।

चलचित्रमा रोशन श्रेष्ठ, विजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन “मन्त्री”, सुबास भण्डारी, विजय सुब्बा, बिजिता बर्देवा, देवराज राजबन्शी लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

अमेरिकामा रहेका साहित्यकार नर प्रधान (मित्र) को निर्देशन तथा कथा रहेको चलचित्र “यो मन त मेरो नेपाली हो” लाई ज्ञान बहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन् ।

पद्मा ईश्वर इन्टरटेन्मेन्ट प्रा.लि. र नर प्रधानको प्रस्तुतिमा निर्माण भएको यस चलचित्र शिवम् अधिकारीको लेखनमा तयार भएको

“यो मन त मेरो नेपाली हो” मा दीपक शर्मा, विकास चौधरी र तोरम्पा हाङ राईको संगीत रहेको छ भने, सौरभ लामाको छायांकन, बनिश शाहको सम्पादन, देव महर्जनको द्वन्द्व निर्देशन, रेनिश फागोको कलर ग्रेडिङ तथा कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी रहेको छ ।

संसारभर छरिएर रहेका नेपालीहरूले आफ्नो भाषा, कला र संस्कृतिबाट टाढा जाँदै गएको अवस्थालाई चलचित्रको माध्यमबाट दर्शाउन खोजेको निर्माण टिमको भनाइ छ । साथै, चलचित्र नेपाली भाषाको महत्त्वलाई उजागर गर्दै दर्शकमाझ देशप्रेमको भावना प्रवर्द्धन गर्ने अपेक्षा निर्माणपक्षले लिएको छ।

यो चलचित्रलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस् प्रा.लि.ले वितरण गर्ने भएको छ ।


ताजा खबर