‘फेरि रेशम फिलिलि’को ट्रेलरमा कमेडी ट्रिटमेन्टमा युवाको अमेरिका सपना

महाशिवरात्रिको अवसर पारेर फागुन १४ गते प्रदर्शन हुने तयारीमा रहेको नेपाली चलचित्र ‘फेरि रेशम फिलिलि’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक विशेष समारोहमा निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो।

चलचित्रको ट्रेलरले हालको पुस्ताको अमेरिका मोहलाई प्रस्ट्याएको छ । ट्रेलरको सुरुवात मुख्य पात्र रेशम अर्थात् विनय श्रेष्ठको अमेरिका जान जहाजतर्फ दौडिरहेको दृश्यबाट हुन्छ भने यसको अन्त्य महादेवको चरित्र प्रस्तुत गर्दै गरिन्छ। ट्रेलरमा अमेरिका जान मुख्य पात्रले गर्ने संघर्ष र भोग्ने कठिनाइ झल्काइएको छ।

‘फेरि रेशम फिलिलि’को ट्रेलरमा डीभी (डाइभर्सिटी भिसा) परेपछि अमेरिका जाने सपना देख्ने रेशमको कथा प्रस्तुत गरिएको छ। समाजले डीभी परेका व्यक्तिलाई कसरी हेर्छ, विवाहजस्तो सामाजिक परिघटनासँग कसरी जोडिन्छ, र पात्रका लागि अमेरिका जान कुन-कुन अवरोध आउँछन् भन्ने कथाले सिनेमालाई रोचक बनाएको देखिन्छ।

चलचित्रमा विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, सजन थापा लगायतका कलाकारको अभिनय रहेको छ।

चलचित्रलाई निरोज महर्जनले निर्देशन गरेका छन् भने कथासमेत उनले नै लेखेका हुन्। सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत रहेको छ। सम्पादन सुरेन्द्र पौडेलले गरेका छन्।

सिनेमा आर्ट र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको सिनेमाका निर्माता रौनक विक्रम कडेल हुन् भने कार्यकारी निर्माता सुरज बम ठकुरी र सह-निर्मातामा एनि थापा रहेकी छन्।

चलचित्र ‘फेरि रेशम फिलिलि’ले नेपाली समाजमा रहेको अमेरिका मोह र यससँग जोडिएको संघर्षलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गर्ने प्रयास गरेको छ। ट्रेलर सार्वजनिक भएसँगै दर्शकमाझ चलचित्रको प्रतीक्षा झन् बढेको देखिन्छ।


ताजा खबर