काठमाडौं । चलचित्र ‘हेल्लो काँशीराम’ले आफ्नो फस्टलुक पोस्टरसँगै प्रदर्शन मिति तय गरेको छ । निर्माण टिमले आगामी २०८२ जेठ २ गतेलाई प्रदर्शन मिति घोषणा गरेको छ ।
सार्वजनिक पोस्टरमा अभिनेता दिलीप रायमाझी प्रस्तुत गरिएको छ । जसमा उनलाई एउटा बोको बोकेर हिँडिरहेको देख्न सकिन्छ । निर्माण टिमले चलचित्रको कथावस्तु खुलाइएको छैन, तर पोस्टर हेर्दा यो सिनेमा कमेडी शैलीमा निर्माण भएको संकेत गर्छ ।
रिम विश्वकर्माको लेखन तथा निर्देशन रहेको चलचित्रमा दिलीप रायमाझीसँगै वरिष्ठ कलाकारहरू सुरविर पण्डित, रामचन्द्र अधिकारी, सुशील पोखरेल देखिने छन् । त्यस्तै, सिनेमामा चर्चित हास्य कलाकार उमेश राई (फुलन्देको आमा), भँगेरी डन, नवज्योति रसाइली, सुमन खाँण, अजय न्यौपाने, सरोज केसी, उमेश मायालु समेत विशेष अभिनय रहेको जानकारी दिइएको छ ।
दर्शकहरूले अभिनेत्री प्रियङ्का कार्कीलाई विशेष गेस्ट कलाकारको रूपमा देख्न पाउने निर्देशक विश्वकर्माले जानकारी दिए ।
रेड लाइन फिल्मस् प्रा.ली को ब्यानरमा निर्माण भएको यस चलचित्रका निर्माता पि.वि. थापा रहेका छन् भने यम आलेले यो सिनेमा खिचेका हुन् ।
डेढ करोडको लागतमा निर्माण भएको यो चलचित्रलाई मित्र डी. गुरुङले सम्पादन तथा रंग संयोजन गरेका छन् ।
चलचित्रको नृत्य निर्देशन कविराज गहतराजले गरेका छन् । द्वन्द्व निर्देशन शंकर महर्जनले गरेका छन् भने संगीत संयोजन नरेन्द्र यिबोगी र विपिन आचार्यले गरेका छन् । सिनेमाका गीतहरूमा प्रताप दास, मेलिना राई, राजु परियार, किरण सुनार र अनिक गिरीको आवाज रहेको जनाइएको छ ।
निर्देशक विश्वकर्माले यसअघि ‘नेपाली वीर’, ‘सम्झिराख है’, ‘रेलिमाई’ जस्ता चर्चित फिल्महरू निर्देशन गरिसकेका छन् ।