काठमाडौं । ‘झोला’ फिल्मका निर्देशक यादकुमार भट्टराईको निर्देशनमा बनेको नयाँ चलचित्र ‘झिल्को’ को टिजर सार्वजनिक भएको छ। बिहीबार निर्माण टिमले सार्वजनिक गरेको टिजरले मोबाइल एडिक्सन अर्थात् मोबाइलको बालबालिकामा पर्ने असरलाई चित्रण गरेको छ।
टिजरमा विशेष गरी डिजिटल प्रविधिप्रति बढ्दो निर्भरता र यसको मनोवैज्ञानिक, सामाजिक तथा पारिवारिक प्रभावलाई देखाइएको छ। मोबाइलका कारण सम्बन्धमा आउने दरार, मानिसहरूबीचको दूरी र वास्तविक जीवनभन्दा डिजिटल संसारमा हराउँदै गएका पात्रहरूको कथालाई टिजरले उजागर गरेको छ।
निर्देशक भट्टराई यसअघि सामाजिक विषयवस्तुमा आधारित चलचित्र निर्देशन गर्दै आएका छन्। ‘झोला’ मा सती प्रथा र ‘भोर’ मा दाइजो प्रथाको कथा देखाए जस्तै ‘झिल्को’ मा प्रविधिको सामाजिक विस्तारिकरण र यसले पार्ने प्रभावको कथा प्रस्तुत गरिएको छ।
मिडिया फर कल्चर प्रा.लि.को प्रस्तुति तथा जनता टिभिको सहकार्यमा निर्माण भएको यस चलचित्रमा सुनिल पोखरेल, वर्षा सिवाकोटी, आयुषी ढकाल, विशाल पोखरेल, भोलाराज सापकोटा, जेभिन श्रेष्ठ र जेभिस श्रेष्ठ मुख्य भूमिकामा छन्।
चलचित्रका छायांकार दीपक बज्राचार्य हुन् भने सम्पादन निमेष श्रेष्ठले गरेका छन्। कलर सम्पादन श्याम कुँवरले गरेका छन् भने साउण्ड मिक्सिङ उत्तम न्यौपानेले गरेका छन्। चलचित्रको कथा तथा पटकथा निर्देशक भट्टराईले अरुणदेव जोशी र देवव्रतसँग मिलेर तयार गरेका हुन्।
चलचित्रका गीत आनन्द अधिकारीले लेखेका छन् भने संगीत चण्डीप्रसाद काफ्ले र दीपक शर्माले दिएका छन्। चलचित्रका गीतहरूमा शिव परियार, निशा देशार र सहिमा श्रेष्ठको स्वर रहेको छ।
चलचित्र ‘झिल्को’ आगामी वैशाख १९ गते रिलिज हुने तयारीमा रहेको छ।