चलचित्र ‘कुम्भ’ बन्ने, फर्स्टलुक पोस्टरमा देखिए चार मुख्य पात्र

काठमाडौं । होलीको अवसर पारेर चलचित्र ‘कुम्भ’को निर्माण घोषणा गरिएको छ । रन्धिर श्रेष्ठको निर्देशनमा निर्माण हुन लागेको यस सिनेमाको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै औपचारिक निर्माणको घोषणा गरिएको हो ।

निर्देशक श्रेष्ठको यो डेब्यु निर्देशन हो । यसअघि उनले म्युजिक भिडियोको निर्देशन तथा चलचित्रको छायांकनमा सक्रिय रहँदै आएका थिए ।

एक्सन जनरामा बन्ने चलचित्र ‘कुम्भ’मा नवनायक अशोक आर्यन, वरिष्ठ अभिनेता सुनिल थापा, वरिष्ठ अभिनेता सुशील पोखरेल, अफ्सना थापा तथा रोहित रुम्बाको मुख्य भूमिका रहनेछ ।

निर्माण टिमले बिहीबार सार्वजनिक गरेको चलचित्रको फर्स्टलुक पोस्टरमा सिनेमाका चार मुख्य पात्रलाई स्थान दिइएको छ, जसमा एक जना मुख्य पात्र घोडामा सवार देखिन्छन् । यस्तै, चलचित्रका लागि मुख्य नायिकाको खोजी भइरहेको निर्माण टिमले जनाएको छ ।

सन् २०२५ लाई प्रदर्शन मिति लक्ष्य राखिएको यो चलचित्र चैतको दोस्रो सातादेखि फ्लोरमा जाने तयारीमा रहेको निर्माणपक्षले जानकारी गराएको छ । यस सिनेमाको छायांकन निर्देशक श्रेष्ठले नै गर्नेछन् भने सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहनेछ ।

चलचित्रका निर्मातामा रन्धिर श्रेष्ठ र राजेश साह रहेका छन् भने सह-निर्माताको रूपमा ध्रुवराज पराजुली रहेका छन् । यस सिनेमाका कार्यकारी निर्माता इश्वर बल्लभ उप्रेती रहेका छन् ।


ताजा खबर