बिहीबारदेखि मध्यपूर्वका देशहरूमा ‘होस्टेल ३’, घरेलु बक्स अफिसमा कमायो २ करोड २० लाख

काठमाडौं । पहिलो दुई सिक्वेलले सफलता पाइसकेका ‘होस्टेल’ फ्रेन्चाइजको तेस्रो श्रृंखला पनि बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ ।

गत शुक्रबारदेखि प्रदर्शनमा आएको ‘होस्टेल ३’ले दर्शकको उत्कृष्ट प्रतिक्रिया प्राप्त गर्दै दोस्रो हप्तामा प्रवेश गरेको छ । विशेषगरी युवा पुस्तालाई लक्षित यो चलचित्रले नेपाली सिनेमाकाका मुख्य दर्शक वर्गलाई तान्न सफल भएको छ ।

सुरुवातीमा ‘होस्टेल ३’को कमजोर ओपनिङ भए पनि हलहरूमा उल्लेखनीय दर्शक उपस्थितिका कारण दोस्रो दिनदेखि हलमा पकड जमाएको थियो भने यो सिनेमाले साँझपख अझ बढी दर्शक तान्न सफल भएको थियो ।

चलचित्र विकास बोर्डको बक्स अफिस तथ्यांकअनुसार घरेलु बक्स अफिसमा ‘होस्टेल ३’ले ६ दिनमा २ करोड २० लाख ग्रस कमाएको छ । यसबाट निर्माताले एक करोड पाउने देखिएपनि यूवापुस्ताको आकर्षणलाई हेर्दा चलचित्रले आगामी दिनमा अझ राम्रो व्यापार गर्ने सम्भावना देखिएको छ । ‘वर्ड अफ माउथ’ सकारात्मक भएका कारण चलचित्रले अपेक्षाभन्दा राम्रो व्यापार गरिरहेको निर्माणपक्षको भनाइ छ ।

विहीबार होलीको सार्वजनिक बिदाको दिनमा पनि उत्साहजनक ब्यापार गरेको छ । गत कात्तिकदेखि २ करोड माथि कमाउने दोस्रो नेपाली चलचित्र बन्न सफल भएको यो सिनेमाले ३ करोड नाघ्न सक्ने सम्भावना देखिएको छ। यसअघि २ करोडमाथिको व्यापार कुमार कट्टेलको निर्देशनमा निर्माण भएको ‘लाज शरणम्’ले गरेको छ ।

‘होस्टेल ३’ बिहीबारदेखि संयुक्त अरब इमिरेट्स, कतार र बहराइनमा समेत प्रदर्शनमा आएको छ । सिनेमाको प्रचारका लागि कलाकार पदम तामाङ कतार पुगेका छन् । वितरक आशिष पुरुषका अनुसार, मध्यपूर्वका देशहरूमा पनि चलचित्रप्रति उच्च माग रहेको छ, जसले त्यहाँको व्यापारलाई आक्रामक बनाउने देखिएको छ ।

निर्देशक सशान कँडेलले पहिलो निर्देशनमै दर्शकको अपार माया पाएकोमा खुसी व्यक्त गर्दै भने, “चलचित्रले अपेक्षाभन्दा राम्रो व्यापार गरेको छ । सबैभन्दा ठूलो उपलब्धि भनेकै दर्शकको माया र सकारात्मक प्रतिक्रिया हो ।”

कलेज र होस्टेल जीवनको कथा भन्ने ‘होस्टेल ३’मा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ । सिनेमामा वॉर्डेनको भूमिकामा प्रवीण खतिवडा छन् भने आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान, सन्तोष बानियाँ लगाएतको पनि अभिनय रहेको छ ।

यो चलचित्रका निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन् भने सह-निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर रहेका छन् । कार्यकारी निर्माता शंकर कोइराला हुन् भने कोसिस राज क्षेत्री लाइन प्रोड्युसरका रूपमा छन् ।

चलचित्रको छायांकन अर्जुन तिवारीले गरेका हुन् भने सम्पादन विकास दाहालले गरेका छन् । एक्सन निर्देशन हिमाल केसी, सङ्गीत अर्जुन पोखरेल, अल्मोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकल, नृत्य निर्देशन प्रवीण सिंह र रोशन विश्वकर्माको रहेको छ ।

‘होस्टेल ३’को वितरण काठमाडौं उपत्यकामा काफिया फिल्म्स (गोविन्द शाही) र उपत्यका बाहिर आरआर फिल्म्स (रोहित कट्टेल, रत्न श्रेष्ठ) ले गरेका छन् ।


ताजा खबर