काठमाडौं । गायक तथा अभिनेता प्रकास सपुतको डेव्यु निर्देशकिय सिनेमा ‘वसन्त’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । हिजो बिहीबार फागु पूर्णिमा अर्थात् होलीको अवसरमा फिल्मका मुख्य दुई कलाकार गायक सपुत र अभिनेत्री स्वस्तिमा खड्काको उपस्थिति रहेको पोस्टर सार्वजनिक गरिएको हो ।
पोस्टरमा कलेज जाँदै गरेका प्रकास र स्वस्तिमालाई देखाइएको छ । पोस्टर सार्वजनिक गर्दै निर्देशक तथा अभिनेता सपुतले लेखेका छन्, ‘जसरी प्रकृतिका विभिन्न रंङहरु समेटेर वसन्त ऋतु आएको छ । त्यसरी नै समाजका विभिन्न रङहरु समेटेर सिनेमा ‘वसन्त’ तयार भएको छ । ती रंङहरु मध्ये सबै भन्दा सुन्दर रङ हो प्रेमको रङ । ‘वसन्त’ एउटा सुन्दर प्रेमको रङले बनेको छ । बसन्त ऋतुमा फुल्ने लालीगुँरास जस्तै रंगीन पर्व फागु पर्वको शुभकामना ।’
चैत्र २२ गतेबाट नेपाल र विदेशमा एकसाथ प्रदर्शनमा आउने फिल्ममा प्रकास सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय रहेको छ ।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा फिल्ममा कथा, पटकथा र संगीत पनि निर्देशक सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा फिल्मले भन्ने छ । फिल्मको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् ।
गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा सिनेमाको छायांकन गरिएको हो । गायक तथा अभिनेता प्रकाश सपुतको डेव्यु निर्देशकिय सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन् । काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनिले फिल्मलाई वितरण गर्नेछन् ।