सुशान्तको पार्श्व गायनमा डेब्यु, ‘कर्मा’का लागि गाए ‘पागल पागल जस्तै’

काठमाडौं । गायक सुशान्त केसीले पार्श्व गायनमा डेब्यु गरेका छन् । चलचित्र ‘कर्मा’मार्फत सुशान्तले चलचित्रको पार्श्व गायनमा डेब्यु गरेका हुन् ।

सुशान्तले चलचित्र ‘कर्मा’का लागि ‘पागल पागल जस्तै’ बोलको गीत गाइसकेका छन् । निर्माणपक्षले भिडियो छायांकन पनि गरिसकेको छ । केही दिनमै भिडियोसहित गीत रिलिज हुँदै छ ।

गीतमा शब्द, संगीत र स्वर नै सुशान्तको छ । सुशान्त हम्मेसी अरुका लागि गीत गाउँदैनन् । आफ्नै च्यानलमा मात्रै गाउँदै आएका गायक छन् ।

युवा पुस्तामाझ उनको लोभलाग्दो क्रेज छ । उनका हरेक गीत मिलियन्सभन्दा माथि युट्युबमा भ्युज गएका छन् ।

यसअघि पार्श्व गायनका लागि धेरै निर्माता तथा निर्देशकले आग्रह गरे पनि उनले टार्दै आएका थिए ।

सौरभ चौधरीको निर्देशन तथा विपीन कार्की मुख्य भूमिका रहेको चलचित्रका लागि भने उनी गाउन तयार भएका हुन् । दर्शकले उनलाई भिडियोमा लिप्सिङ गरेको पनि देख्नेछन् ।

यही शनिबार गीत सार्वजनिक गरिने निर्देशक चौधरीले बताए ।

कर्मा’मा विपीनसँगै उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिब्यदेब, सरिता गिरी, बिश्वास बस्नेत (बेन), सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालागायतको अभिनय रहेको छ ।

चलचित्र ‘कर्मा’ आगामी चैत २९ गते रिलिज हुँदै छ । नेपाल र विदेशमा यो चलचित्र एकसाथ प्रदर्शन हुने निर्माणपक्षले बताएको छ ।

निर्देशक चौधरी स्वयंले कथा लेखेको एक्सन चलचित्र ‘कर्मा’ ड्रामा, सस्पेन्स र एक्सन जनरामा छ ।

‘कर्मा’ले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्रीको अधिकार सेभेन सिज सिनेमाले लिएको छ ।

सञ्जय लामाको छायाकंन रहेको चलचित्रमा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी छ । श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ ।

तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको सिनेमामा समीर मियाको भिएफएक्स, उत्तम न्यौपानेको व्याकग्राउण्ड स्कोर छ । विजय बश्यालको पब्लिसिटी डिजाइन र राजेन्द्र मोक्तान कलरिस्ट रहेका छन् ।

आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी छ ।

निर्देशक चौधरीको ‘अगस्त्यः च्याप्टर १’ले दर्शक र समीक्षकको राम्रो प्रतिक्रिया पाएको थियो ।


ताजा खबर