काठमाडौं । अभिनेता सौगात मल्ल, आशिफ शाह र अभिनेत्री गरिमा शर्माको प्रमुख भूमिकामा बनेको सिनेमा ‘जन्ते बाख्रो’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सोही पोस्टरमार्फत् सिनेमाको प्रदर्शन मिति पनि घोषणा गरिएको छ, जसअनुसार यो सिनेमा आगामी जेठ २३ गतेबाट प्रदर्शन हुनेछ ।
सार्वजनिक पोस्टरमा हिमाली क्षेत्रको पृष्ठभूमिमा आशिफ शाह र गरिमा शर्मालाई रोमान्टिक अवतारमा देखाइएको छ, भने सौगात मल्ल उनीहरूलाई निराश मुद्रामा हेरिरहेका छन् । उनीहरूकै बीचमा चस्मा लगाएको एउटा बाख्रो समेत देखिन्छ । निर्माण टिमका अनुसार ‘जन्ते बाख्रो’ शीर्षक विवाहका अवसरमा जन्तीलाई खुवाइने विशेष भोजलाई संकेत गर्छ, र सिनेमाको कथा यसैको वरिपरि घुमेको छ ।
सिमोस सुनुवारको निर्देशनमा बनेको यस सिनेमामा सौगात, आशिफ र गरिमासँगै रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहेको ‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा आधारित छ । प्रदीप भारद्धाजले कथा, पटकथा र संवाद लेखेका छन् भने सिनेमाको निर्माण सन्तोष गौतमले गरेका हुन् । सिनेमाका डीओपी हरि हुँमागाई, सिनेमाटोग्राफर उत्तम हुँमागाई, सम्पादक सुनिल शिवभक्ति तथा पोस्टर डिजाइन रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट टिम) ले गरेका छन् । सिनेमाको वितरण टिफल्क फिल्मस्ले गर्नेछ भने डिजिटल अधिकार मुईन इन्टरटेनमेन्टकै स्वामित्वमा रहेको छ ।