काठमाडौं । गायक तथा अभिनेता प्रकाश सपुतको डेव्यु निर्देशनमा निर्माण भएको चलचित्र ‘वसन्त’को गीत ‘हेर्दै आँखामा’ सार्वजनिक गरिएको छ ।
नेपालका विभिन्न लोकेशन र भारतको गोवामा खिचिएको गीतमा अभिनेता सपुत र अभिनेत्री स्वस्तिमा खड्कालाई रोमान्टिक अवतारमा फिचर्ड गरिएको छ ।
आइतबार चलचित्रको निर्माण टिमले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै यो गीत सार्वजनिक गरेको हो । पत्रकार भेटघाट कार्यक्रममा डेव्यु निर्देशक तथा अभिनेता सपुतले मानिष जुनसुकै जात, धर्म अनि वर्गको भएपनि एक नै भएको सन्देश ‘हेर्दै आँखामा’ गीतले दिने बताए । ‘वसन्त’मा समावेश गीतले सिनेमा अनुसार भए नभएको अहिले खासै अर्थ नराख्लान तर कुनै न कुुनै दिन पक्कै चर्चा हुने र त्यसको महत्त्व देखिने विश्वास व्यक्त गरे ।
गीतमा सिनेमाका मुख्य पात्र वसन्तले विभिन्न धर्म र संस्कार अनुसार विवाह गरेको देखाइएको छ । जसले सिनेमाको कथा र त्यसको मर्मलाई चित्रण गर्ने उनको भनाई छ । सार्वजनिक गीतमा गायक सुगम पोखरेल र गायिका समीक्षा अधिकारीले स्वर दिएका छन् । सिनेमा निर्देशक समेत रहेका अभिनेता सपुतको नै शब्द रचना तथा संगीत अनि योगेश काजी शाहको संगीत संयोजन छ । सुशन प्रजापतिले खिचेको गीतमा केवीका खत्रीको कोरियोग्राफी र प्रवीन भट्टको सम्पादन छ ।
चैत्र २२ गते शुक्रबारबाट नेपाल र विदेशमा एक साथ रिलिज हुने सिनेमामा प्रकास सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारीको अभिनय रहेको छ ।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा सिनेमामा कथा, पटकथा र संगीत पनि निर्देशक सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा सिनेमाले भन्ने छ । सिनेमाको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् ।
गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा सिनेमाको छायांकन गरिएको हो । गायक तथा अभिनेता प्रकाश सपुतको डेव्यु निर्देशकिय सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन् । काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनिले सिनेमालाई वितरण गर्नेछन् ।