हिन्दी र नेपाली भाषामा निर्माण हुने ‘द महावीर’को निर्माण घोषणा

काठमाडौं । फिल्म ‘द महावीर’ निर्माणको घोषणा गरिएको छ । निर्माणपक्षले थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरेको हो ।

जिबी आग्रीले निर्देशन गर्ने फिल्मको कथावस्तु के हो निर्माणपक्षले प्रष्ट खुलाएको छैन । थिम पोस्टर भने रेड एन्ड डार्क रहेकाले युद्धको पृष्ठभूमिमा कथा रहेको अनुमान लगाउन सकिन्छ ।

दुईवटा बलिष्ट घोडा दौडाएर दुईव्यक्ति आमनेसमाने भएको पोस्टरमा उल्लेख छ । बीचमा ठूलो तरबार रातो कपडाले बेरिएको अवस्थामा कसैले उठाउन तयार रहको अवस्थामा छ । यो युद्धको संकेत हो ।

फिल्मको नारा ‘राइज फाइट कन्क्वेर’ छ । उठ, लड र जित भन्ने नाराले दुईपक्षबीचको द्वन्द्वलाई संकेत गरेको छ । फिल्मको कथा कृष्ण बिके र जिबी आग्रीले लेखेका छन् ।

लक्षरा फिल्सको प्रस्तुति रहने ‘द महावीर’मा कृष्ण बिके, बिआर रेड्डी, सन्तोष लुहार निर्माताको रुपमा रहनेछन् । सह–निर्मातामा रम्भा देवी र लक्ष्मण बिके रहनेछन् ।

कार्यकारी निर्मातामा संगीतकार सुरेश अधिकारी छन् । डिरेक्टर अफ फोटोग्राफीमा सरण रिसी छन् । हिन्दी र नेपाली भाषामा निर्माण हुने फिल्ममा डल्बी एटमसको साउन्ड रहने निर्माणपक्षले जनाएको छ ।

निर्देशक जिबी आग्रीले भने, ‘हामी केही समयपछि कलाकार र रिजिल डेट बारे जानकारी दिनेछौँ । हाम्रो फिल्मको लाइनअप निकै बलियो र अनपेक्षित हुनेछ ।’


ताजा खबर