काठमाडौं । पछिल्ला दिनमा व्यापक चर्चा कमाएको नेपाली चलचित्र ‘ऊनको स्वीटर’ को टिजरले भावनात्मक गहिराइ र सौन्दर्यपूर्ण दृश्यमार्फत दर्शकलाई आकर्षित गरिरहेको छ। “म पो अलमलमा परेँ हौ” भन्ने संवादबाट सुरु हुने टिजरले ‘तमोर खोला’, ‘फाक्ताङ्लुङ’ जस्ता शब्दहरूले नेपालीपनको आत्मा समेट्दै दर्शकलाई सन्देश दिन खोजेको देखिन्छ।
मौलिक कथावस्तु खोजिरहेका नेपाली दर्शकहरूका लागि यो चलचित्र टिजर नै एउटा ताजा र कलात्मक प्रयासको संकेत बनिरहेको छ। अटो रिक्साको पृष्ठभूमिमा रचिएको प्रेम कथा टिजरमा देखिएपछि सामाजिक सञ्जालमा धेरैले किशोरकालीन प्रेम र स्कुले दिनहरूको स्मृति फेरि बाँचेको अनुभव बाँडेका छन्।
एक युट्युब प्रयोगकर्ता योदिन तामाङ लेख्छन्, “यो असाधारण सृजनाले सबै नेपालीलाई गर्व गराएको छ। यस्तो नेपाली चलचित्र मैले पहिले कहिल्यै देखेको थिइनँ।”
नेपाली चलचित्रमा कमै रुचि राख्ने प्रताप पौडेल पनि प्रभावित देखिन्छन्। उनले लेखेका छन्, “मैले प्राय: नेपाली फिल्म हेर्दिन, तर यो चलचित्रले चाहिँ ध्यान तान्यो। हेर्नैपर्छ जस्तो लागिरहेको छ।”
चलचित्र ‘घुमी घुमी’ का निर्देशक नवीन चौहानकै निर्देशनमा बनेको ‘ऊनको स्वीटर’ ले इरानी सिनेमाको झल्को दिने दृश्यहरू प्रस्तुत गरेको भन्दै राजीव बुढाथोकी भन्छन्, “जसरी ‘घुमी घुमी’ मा सुन्तला लडाउनुभएको थियो, उसै गरी यहाँ ऊनको डल्ला लडाउनुभएको छ – निकै कलात्मक।”
टिजरलाई जीवनकै स्मृति बनेर आएको बताउने दर्शक विशाल कुँवर लेख्छन्, “स्कुले र कलेज समयको भावनात्मक झल्को जस्तो लाग्यो। टिजर हेर्दा जिन्दगीकै फ्ल्यास ब्याक बाँचेजस्तो भयो।”
आर्टमाण्डू प्रा.लि.को ब्यानरमा बनेको यो चलचित्रमा विपिन कार्की र मिरूना मगर मुख्य भूमिकामा छन्। उनीहरूका साथमा एलेक्स पारस, परीक्षा लिम्बु र विल्सन विक्रम राईले सशक्त अभिनय गरेका छन्। टिजरमा विपिन र मिरूनाको केमिस्ट्री, डायरीमा पोखिएको प्रेम, र स्मृतिका गहिरा तहहरू दर्शाइएको छ।
नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा सुरज कटुवाल सह–लेखक हुन्। संगीत सुजन चापागाईंले दिएका छन् भने कलाकार सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमू, र भावना खपाङ्गी मगरको पनि उल्लेख्य उपस्थिति रहेको छ।
निर्देशक चौहान भन्छन्, “सामाजिक सञ्जालमा आएको आत्मीय प्रतिक्रिया हेर्दा लाग्छ – ‘ऊनको स्वीटर’ केवल हेर्नुपर्ने चलचित्र होइन, अनुभव गर्नुपर्ने चलचित्र हो।”
चलचित्र आगामी वैशाख २६ गते देशव्यापी प्रदर्शनमा आउँदैछ।