२५ वर्षपछि फिल्ममा डेब्यू गरेकी उषा खड्गीको ‘नरसिंहाः अवतार’मा यस्तो छ लुक्स

काठमाडौं । सन् २००० मा मिस नेपालको ताज जितेकी उषा खड्गी अब बल्ल पर्दामा देखिन लागेकी छिन् । मिस नेपाल बनेको २५ वर्षपछि उनले फिल्ममा डेब्यू गर्दैछिन् । उनी अभिनीत पहिलो फिल्म ‘नरसिंहाः अवतार’ आगामी जेठ ९ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा छ ।

फिल्ममा उषाको भूमिका कस्तो हुनेछ भन्ने कौतुहलता दर्शकमाझ कायम छ । हालै निर्माण टिमले उषाको फस्टलुक पोस्टर सार्वजनिक गरेको छ, जहाँ उनी मुस्कुराएको मुद्रामा देखिएकी छन् । पोस्टरको पृष्ठभूमिमा नरसिंहाको विशाल चित्र पनि देखिन्छ, जसले फिल्मको गहिरो धार्मिक र पौराणिक आयाम संकेत गर्छ।

फिल्मप्रति निकै उत्साहित रहेको बताउने उषाले आफ्नो भूमिकाबारे अहिले नै धेरै खुलाउन चाहिनन् । उनले नायक राजेश हमालसँग जोडीको रूपमा देखिन्छिन् वा छैनन् भन्ने प्रश्नमा पनि जवाफ टारिन् । तर, उनले हमालसँग पर्दा शेयर गर्न पाउँदा निकै खुशी लागेको बताएकी छिन् ।

यसअघि उनी हमालसँग म्युजिक भिडियोमा देखिइसकेकी छन्, तर यो पहिलो पटक हो जब उनी फिल्ममा एकसाथ देखिँदैछन् । “दर्शकले मेरो कामलाई कस्तो प्रतिक्रिया दिनुहुन्छ भन्ने चासोले म निकै उत्साहित छु,” उषाको भनाइ छ ।

दिवाकर भट्टराइको लेखन र निर्देशनमा बनेको ‘नरसिंहाः अवतार’ मा राजेश हमाल, निर शाह, राज कटुवाल, प्रशान्त ताम्राकार, सरोज खनाल, नीति शाह, सनिषा भट्टराई, दीपा शाही लगायतको अभिनय रहेको छ। फिल्ममा दीपक ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने र नेम महर्जनले लगानी गरेका छन्।

२५ वर्षपछि फिल्मी डेब्यू गर्दै गरेकी उषा खड्गीको अभिनयले दर्शकलाई कस्तो प्रतिक्रिया दिलाउँछ भन्ने कुरा अब केही समयमै थाहा हुनेछ।


ताजा खबर