बेनिशाको ‘कल्ली’ कात्तिक २१ बाट रिलिज हुने

काठमाडौं । लक्ष्मण सुनारको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘कल्ली’ को प्रदर्शन मिति घोषणा गरिएको छ ।

हाल जुम्लामा छायांकन भइरहेको सिनेमाको निर्माणपक्षले आउँदो वर्षको कात्तिक २१ गते लाई रिलिज मिति घोषणा गरेको हो ।

चलचित्रका प्रस्तुतकर्ता किरण नेपालीले वितरकहरुसँग सल्लाह गरेर ‘कल्ली’ को रिलिज मिति तय गरिएको जानकारी दिए । यो चलचित्र तिहारको दुई सातापछि रिलिजमा आउने छ ।

पौराणिक कथामा आधारित रहेको यस चलचित्रमा सौगात मल्ल, बेनिशा हमाल, नाजिर हुसेन, वर्षा राउत, अर्पण थापा, उत्तम प्रधान, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य (मुन्नी), गीता अधिकारी, कुलदीप अधिकारी लगायतको अभिनय छ ।

काठमाडौंको छायांकन सकेर कर्णाली प्रदेशको उच्च हिमाली क्षेत्रमा छायांकन गरिरहेको सिनेमाको निर्माणपक्षले केही दिनअघि अभिनेता थापाको लुक्स सार्वजनिक गरेको थियो ।

जसमा अभिनेता थापाको भूमिका कस्तो हो भन्ने नखुलाए पनि उनी गाउँको सम्भ्रान्त व्यक्तिको भूमिकामा रहेको अनुमान गर्न सकिन्छ ।

लेकाली इन्टरटेन्मेन्ट र कस्तूरी प्रोडक्सनको प्रस्तुति रहेको चलचित्रको निर्मातामा किरण नेपाली, हिमाल कडरिया र अमलादेवी राई छन् भने सरोज नेपाली कार्यकारी निर्माता हुन् ।

महेश दवाडीको लेखन रहेको चलचित्रमा निसाल पौडेलको छायांकन छ । यो सिनेमालाई काफिया फिल्मस् र कुबेर फिल्मस्ले काठमाडौं र मोफसलमा वितरण गर्नेछन् ।


ताजा खबर