काठमाडौं । दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘के घर के डेरा : घर नं २’को टिजर सार्वजनिक भएको छ । टिजरमा चलचित्रका मुख्य कलाकार खगेन्द्र लामिछाने लगायत मुख्य कलाकारले स्पेश पाएका छन् ।
टिजरमा आम नेपाली निम्न बर्गीय परिवारले भोग्ने समस्यालाई समेटिएको छ । आफ्नो दुःख अरूलाई सुनाएर मन हलुंगो बनाएको दृश्य टिजरमा छ ।
काठमाडौंमा गाउँबाट आएर संघर्ष गर्ने आम नेपालीको संघर्षलाई टिजरले प्रतिनिधित्व गरेको छ । पशुपतिको किनारमा रहेका दुई दुखी पात्रको कथा साटेको देखाएको टिजरले सामनजिक कथावस्तु सिनेमाले उठाउने प्रष्ट पारेको छ ।
पारिवारिक प्रेम, वियोग र त्यसले दिने मानसिक यातना टिजरमा समेटिएको छ ।
पृथ्वी एक डेराको रुपमा रहेको र हरेक मान्छेले भाडा तिरिरहेकाले तेरो र मेरो भन्नुको कुनै अर्थ नरहेको सन्देश टिजरमा उल्लेख छ । टिजरमार्फत सिनेमाले गम्भीर कथा भन्ने प्रष्ट पारेको छ ।
यसअघि निर्माणपक्षले गत बिहीबार चलचित्रका मुख्य कलाकारलाई स्पेश दिँदै तीनवटा पोस्टर सार्वजनिक गरेको थियो ।
‘के घर के डेरा : घर नं २’ जेठ २ मा रिलिज हुँदैछ । चलचित्रमा खगेन्द्रसँगै निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरेलगायत कलाकारको अभिनय छ ।
चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो । चलचित्रको कथा ‘कर्णाली ब्लुज’, ‘एक्लो’ र ‘फिरफिरे’ उपन्यासका लेखक बुद्धि सागरले लेखेका छन् । उनको यो पहिलो सिनेमा हो ।
कृष्णबहादुर थापाको सिनेमामा छायांकन रहेको छ । ‘के घर के डेरा : घर नं २’को निर्मातामा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् । कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् ।