काठमाडौं । गणतन्त्र दिवसको अवसर पारेर आगामी जेठ १५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘महाभोज’ को टिजर सार्वजनिक गरिएको छ ।
दिनेश राउतले निर्देशन गरेको चलचित्रको टिजरमा सहकारीले सिर्जना गरेको समस्या समावेश छ । सामाजिक कथावस्तु रहेको टिजरमा पैसाले निम्त्याएका पारिवारिक र सामाजिक द्वन्द्वको समस्यामा केन्द्रित गरेको छ ।
टिजरमा सामाजिक अन्याय, आर्थिक असमानता देख्न सकिन्छ । टिजरमा दयाहाङ राई, खगेन्द्र लामिछाने, आर्यन सिक्देल, गौमाया गुरुङ, अञ्जना बराइलीलगायत छन् ।
निर्देशक राउतका अनुसार चलचित्र पैसाले सिर्जना गर्ने पारिवारिक, सामाजिक र नैतिक दबाबको यथार्थ चित्र हो, जहाँ पात्रहरू आफ्नै अस्तित्व र आत्मसम्मानको लडाइँमा छन् ।
चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाहलगायतका कलाकारको अभिनय देख्न पाइनेछ ।
क्लक वर्क क्रियशन र पिक्चर फ्रेम को संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रको निर्माता हिमाल कडरिया हुन् । कथा तथा पटकथा विकास सुवेदीले लेखेका हुन् । निर्माण पक्षका अनुसार ‘महाभोज’नेपालसँगै नेपालीहरू बसोबास गर्ने अधिकांश देशमा एकैसाथ प्रदर्शनमा ल्याइनेछ ।