‘के घर के डेरा : घर नं २’मा खगेन्द्र डेरावाल हुन् ?

काठमाडौं । ‘पशुपतिप्रसाद’, ‘आमा’, ‘चिसो मान्छे’जस्ता सोसल ड्रामामा सफल फिल्म दिएका निर्देशक दीपेन्द्र के खनालको नयाँ फिल्म ‘के घर के डेराः घर नं २’ प्रदर्शनको तयारीमा छ ।

जेठ २ गतेदेखि प्रदर्शनमा आउने फिल्मले घर र डेराको कथा भन्नेछ । घर र डेरोबीचको फरक बसाइले पारेको प्रभावको कथा भन्नेछ । घर र डेराका कारण समाजले जबरजस्त निर्धारण हुने सोसल स्टाटसको कथाव्यथाबारे बोल्नेछ ।

घर र डेरा कै कारण जतिसुकै उचनिच व्यवाहार भए पनि अन्ततः त्यसको प्रभाव जीवनको अन्त्यमा के पर्छ यसबारे पनि ‘के घर के डेराः घर नं २’ले भन्ने निर्देशक खनालले भने ।

घर र डेराको कथा भन्दा फिल्ममा को हो डेरावाल र को हो घरभेटी ? चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरेलगायत कलाकार मुख्य भूमिकामा छन् । यी मध्ये फिल्ममा को घरभेटी र को डेरावाल हुन् ?

पोस्टरमा सबैको उस्तैउस्तै लुक्स छ । तर, एउटा पोस्टरमा खगेन्द्र साइकल डोर्याइरहेका छन् । टिजरले पनि खगेन्द्रलाई दुखी पात्र देखाएको छ ।

त्यसैले खगेन्द्र डेरावाल हुन् कि भन्ने सामान्य अनुमान लगाउन सकिन्छ । यदि, उनी डेरावाल हुन् भने घरभेटी आर्यन हुन् कि निश्चल यसबारे निर्देशकले केही जानकारी दिएका छैनन् ।

निर्देशक दीपेन्द्र के खनालले ‘के घर के डेराः घर नं २’ सिक्वेल नभएको बताए पनि कथा घर र डेराको रहेको बताउँछन् । फिल्मको कथा साहित्यकार बुद्धिसागरले लेखेका छन् । उनको यो पहिलो फिल्म हो ।

फिल्म एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो ।

कृष्णबहादुर थापाको सिनेमामा छायांकन रहेको छ । ‘के घर के डेराः घर नं २’को निर्मातामा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् । कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् ।


ताजा खबर