चलचित्र ‘आदिपुरुष’मा जानकीलाई भारतकी छोरी भनिएको संवाद नहटाइए कुनै पनि हिन्दी चलचित्र चल्न नदिने बालेनको चेतावनी

भोलीबाट रिलिज हुन लागेको दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय बेटी’ हुन् भन्ने वाक्यांश नहटाए महानगरभित्र हिन्दी फिल्म प्रदर्शन गर्न अनुमति नदिने बताएका छन् ।

फेसबुकमा स्टाटस लेख्दै उनले नेपालमा मात्र नभएर भारतमा पनि नसच्चिए फिल्मलाई महानगरमा प्रदर्शन अनुमति नदिने उल्लेख गरेका हुन् ।

चलचित्र सेन्सर बोर्डले नेपालमा ‘आदिपुरुष’ खरिद गरेका वितरकलाई ‘जानकी भारतमा जन्मिएकी हुन्’ भन्ने आशयको संवाद हटाउन निर्देशन दिएको थियो । सेन्सर बोर्डको निर्देशनपछि यो चलचित्रबाट सो संवाद हटाइएको छ ।

तर, अब काठमाडौं महानगरका मेयर बालेन शाहले नेपालमा मात्र नभई भारतमा पनि चलचित्रमा समावेश उक्त संवाद नहटाइए कुनै पनि हिन्दी चलचित्र काठमाडौं महानगरपालिका भित्र चल्न नदिने चेतावनी दिएका छन् । योसँगै चलचित्र रिलिज अन्यौलमा परेको छ ।

ओम राउतको निर्देशनमा तयार भएको यो चलचित्रले भगावन् राम र सीताको कथा भन्छ । फिल्ममा प्रभाष, कृति सेनन र सैफअली खान मुख्य भूमिकामा छन् ।

बालेनले सामाजिक संजालमा लेखेका छन्– ‘दक्षिण भारतीय फिल्म आदिपुरुषमा समावेश ‘जानकी भारतकी छोरी हुन भन्ने शब्द जबसम्म नेपालमा मात्र नभई, भारतमा पनि सच्चिदैन ।

तबसम्म काठमाडौं महानगरपालिका भित्र कुनै पनि हिन्दी चलचित्र चल्न दिइने छैन । यो सच्याउन ३ दिनको समय दिइएको छ । माता सिताको जय होस् ।’


ताजा खबर