काठमाडौंका हलमा रोकियो ‘आदिपुरुष’को बिहानी शो, चलचित्र संघले बोलायो आकस्मिक बैठक

नेपालमा दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’लाई लिएर विवाद चर्किएपछि चलचित्र संघको निर्देशनमा काठमाडौं उपत्यकाका सबै फिल्म हलले शुक्रबार (आज) बिहानको शो रोकेका छन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतमा जन्मिएकी हुन्’ भन्ने आशयको संवाद भारतबाट समेत नहटाइएको खण्डमा सोमबारदेखि कुनै पनि हिन्दी फिल्म काठमाडौं महानगरपालिका भित्रका हलमा चलाउन नदिने चेतावनी दिएका छन् ।

सोही प्रसङ्गसँगै चलचित्र संघले मुलुकभरका सबै हललाई सर्कुलर पठाउँदै विकसित परिस्थितीको कारण काठमाडौं उपत्यकाभित्रका सबै हलमा ‘आदिपुरुष’को बिहानी शो अनिवार्य रोक्न र उपत्यकाबाहिर परिस्थिती हेरेर चलाउन निर्देशन दिएको छ ।

संघको निर्देशनपछि आज बिहानका सम्पूर्ण शोजहरु रद्द भएका छन् । क्यूएफएक्स, आइएनआई, बिग मूभिज, वान सिनेमाज्सहित मल्टिप्लेक्सले बिहानी शोलाई स्थगित गरेका हुन् ।

बिहानी शोमा विक्री भैसकेका टिकटको रकम फिर्ता गर्ने वा यदि चलेको खण्डमा अर्को शोमा मिलाउने ब्यवस्था हलहरुले गरेका छन् । चलचित्र विकास बोर्डको बक्सअफिस डेटाअनुसार बिहीबार रातीसम्म १५ लाख रुपैयाँ (६ हजार टिकट) बराबरको आदिपुरुषको टिकट विक्री भैसकेको देखिएको छ ।

यस्तै, चलचित्र संघले उत्पन्न परिस्थितीलाई लिएर अब कसरी अगाडि बढ्ने भन्ने बिषयमा शुक्रबार बिहान आकस्मिक बैठक बोलाएको छ । बैठकमा बालेनको अभिव्यक्तिबारे छलफल हुने र आदिपुरुषको प्रदर्शनलाई लिएर निर्णय हुने जनाइएको छ ।


ताजा खबर