उच्च अदालत पाटनले सेन्सर बोर्डले अनुमति दिएका कुनै पनि चलचित्र प्रदर्शन नरोक्न अन्तरिम आदेश दिएको छ ।
बिहीबार न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले सेन्सर बोर्डले प्रदर्शन अनुमति दिएका कुनै पनि चलचित्र नरोक्न आदेश दिएको हो । अदालतको यो आदेशसँगै विवादमा परेको भारतीय चलचित्र आदिपुरुष प्रदर्शनीको बाटो खुलेको छ ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरभित्र गत सोमबारदेखि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएका थिए । प्रमुख शाहको उक्त निर्णयविरुद्ध चलचित्र संघ बुधबार पाटन उच्च अदालत गएको थियो ।
भारतीय चलचित्र ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने आशयको संवाद भारतबाट समेत नहटाएसम्म महानगरका कुनै पनि हलमा भारतीय चलचित्र चल्न नदिने घोषणा मेयर शाहले गरेका थिए । उनै, शाहको निर्णय विरुद्धमा चलचित्र संघले उच्च अदालतमा रिट दायर गरेको हो ।
उच्च अदालतले आदेश दिए लगत्तै महानगर प्रमुख शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत् मार्फत भारतीय चलचित्रको प्रदर्शन हुन नदिने बताएका छन् । उनले अदालत र नेपाल सरकार नै भारतको गुलाम भएको आरोपसमेत लगाएका छन् ।