गायक नेपाली रक ब्याण्ड ‘रबिन एण्ड दी रिभ्युलेसन’का गायक तथा संगीतकार रविन तामाङकाे निधन भएकाे छ । उनको मंगलबार साँझ निधन भएको हो ।
६० वर्षीय तामाङकाे काठमाडाैंकाे बुढानीलकण्ठ -५ चिसेनीस्थित निवासमा निधन भएकाे दिदी भगवती तामाङले पुष्टि गरिन् । उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल (टिचिङ) महाराजगञ्जमा राखिएको छ ।
प्रहरी स्राेतका अनुसार घरकाे काेठाभित्र घाेप्टाे परिरहेकाे अवस्थामा परिवारका सदस्यले झ्यालबाट देखेका थिए । काेठाकाे ढाेका भित्रबाट लगाइएकाे थियाे । त्यसपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । तामाङकी दिदी भगवतीले प्रहरीलाई ६ बजे खबर गरेको र बुढानिलकण्ठ-५ चिसेनीस्थित उनको घरमा प्रहरी पुगेको थियो ।
सुरुमा रविनलाई उनकी श्रीमतीले पटकपटक फोन गरेकी थिइन्। बारम्बार फोन गर्दा र बोलाउँदा पनि रविनले कुनै प्रतिक्रिया दिएनन्। त्यसपछि उनकी श्रीमतीले रविनकी दिदीलाई फोन गरेकी थिइन्। दिदीले पनि रविनलाई बारम्बार फोन गर्दा पनि नउठाएपछि उनैले प्रहरी कन्ट्रोलमा फोन गरेर जानकारी दिएकी हुन्। दिदी भगवतीले प्रहरीलाई ६ बजे खबर गरेकी थिइन् ।
त्यसपछि घटनास्थल पुगेका प्रहरीले शव मृत अवस्थामा भेटिएको थियो । रविन लडिरहेको देखेपछि बचाउन सकिन्छ भनेर ढोका फोडेर प्रहरी र आफन्त कोठामा पसेका थिए ।
‘दिदीकै आग्रहमा हामी घरभित्र पस्यौं । उहाँ माथिल्लो तलामा बस्नुहुने रहेछ। हामीले बाहिरबाट भर्याङ लगाएर झ्यालबाट हेर्यौं। खाटको छेउमा घोप्टो परेर सुतेको अवस्थामा हुनुहुन्थ्यो। शंकास्पद केही देखिँदैन । घटनास्थल क्लिन देखिन्छ । खाट र कोठा सबै सफा नै थियो। मुख्य गेट, माथिको ढोका पनि बन्द नै थियो। तर शव हेर्दा चिसो भइसकेको थियो। प्रहरी प्रभाग बुढानिलकण्ठका प्रहरी निरीक्षक दीपेन्द्र चन्दले भने ।’
सबै प्रक्रिया पुर्याएर रविको शवलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ। उनको मृत्युको कारणबारे पोस्टमर्टमबाट खुल्ने उनले बताए।
रोबिनको जन्म सन् १९६३ मा सिंगापुरमा भएको थियो । रोबिनका पिता ब्रिटिस आर्मीमा रहेका कारण उनले विभिन्न ५ वटा देशमा आफ्नो बाल्यकाल बिताएका थिए ।
नेपाली रक जनराको गीतको विकासमा उनको योगदान उल्लेख्य मानिन्छ । उनको निधनमा नेपाली संगीतकर्मीले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।
तामाङले थुप्रै चर्चित गीत गाउनुका साथै दर्जनौं फिल्महरूमा समेत अभिनय गरेका छन् । चिसो चिसो हावामा , जति माया लाए पनि, भुलमा भुलियो लगायतका गीतहरु उनका हिट् गीतहरू हुन् ।
रविनले मुखौटा, जय पर्शुराम, चिसो एस्ट्रे, छड्केलगायत दर्जनौं फिल्महरूमा पनि अभिनय गरेका छन् । उनको पछिल्लो फिल्म ‘छड्के २’ थियो ।