रबिन तामाङको अन्त्येष्टी आज, अन्तिम श्रद्धाञ्जलि दिइँदै

रकस्टार तथा अभिनेता रबिन तामाङको आज अन्त्येष्टि हुने भएको छ ।

त्यसअघि अन्तिम श्रद्धाञ्जलिका लागि बिहान ८ बजेदेखि साढे १० बजेसम्म तामाङको पार्थिव शरीर नक्सालस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान परिसरमा राखिने छ ।

गत मंगलबार साँझ ६० वर्षको उमेरमा उनको रहस्यमय निधन भएको थियो ।

नेपाली रक ब्याण्ड ‘रबिन एन्ड दी रिभोलुसन’ का गायक तथा संगीतकार तामाङले गायन क्षेत्रलाई बिर्सन नसकिने गुन लगाएका छन् ।

रबिन गायकमात्र थिएनन् अब्बल प्रस्तोता पनि थिए । उनका समकालीन सुगम संगीतमा रमाइरहेका बेला रबिन रक संगीतमा संघर्ष गरिरहेका थिए । उनको गीतसँगै चालीसको दशकको युवा पुस्ता हुर्कियो । पचासको दशकका तन्नेरीहरु गितार समाउने भए । र नेपाली रक संगीत स्थापित भयो ।

विदेशमा जन्मिएर हुर्किएका रबिनको व्यक्तित्व र शैली धेरैले नक्कल गरे । उनी सन् १९६३ मा सिंगापुरमा जन्मिएका हुन् । बाबुको जागिरसँगै उनको बाल्यकाल विभिन्न पाँच देशमा बितेको थियो ।

पछिल्लो समय उनले नेपाली चलिचत्रमा अभिनय गर्न थालेका थिए । चलिचत्रमा खलनायकको भूमिकामा रहने उनी जीवनमा सधैँ नायक रहिरहे । उनले मुखौटा, जय पर्शुराम, चिसो एस्ट्रे, छड्केलगायत दर्जनौं चलिचत्रमा अभिनय गरेका छन् ।


ताजा खबर