गायक तथा अभिनेता रविन तामाङको अन्त्येष्टि

आफ्नै घरमा मृत फेला परेका कलाकार रबिन तामाङको आइतबार अन्त्येष्टि गरिएको छ ।

तामाङको पार्थिव शरीर आज (आइतबार) बिहान श्रद्धाञ्जलीका लागि भगवतीबहालस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्रांगणमा राखिएको थियो । श्रद्धाञ्जली कार्यक्रममा मन्त्रीसहित उच्चपदस्थ अधिकारीका साथै कलाकार, संगीतकार तथा प्रशंसक सहभागी थिए । उनको तामाङ परम्पराअनुसार स्वयम्भूमा अन्तिम संस्कार गरिएको हो ।

६० वर्षीय तामाङ गत मंगलबार बूढानीलकण्ठस्थित घरमा मृत भेटिएका थिए । सन् १९६३ मा सिंगापुरमा जन्मिएका उनको बाल्यकाल बाबुको जागिरसँगै विभिन्न पाँच देशमा बित्यो । सिंगापुरमा प्रारम्भिक विद्यालय शिक्षाका क्रममा उनी जिमी हेन्ड्रिक्स र डिप पर्पलका गीत सुन्थे । उनीहरुकै प्रेरणाले रबिन रक संगीतमा लागे ।

उनले सन् २००६ मा उनकै नेतृत्वमा ‘रबिन एन्ड द न्यु रेभोलुसन’ नामक ब्यान्ड स्थापना गरेका थिए । पछिल्लो समय उनले नेपाली चलिचत्रमा समेत अभिनय गर्न थालेका थिए ।


ताजा खबर