‘दान्भी’को क्लाइमेक्स दृश्य खिचिंदै, पूजाको एक्सन अवतार

नायिका पूजा शर्माको शिर्ष भूमिका रहेको चलचित्र ‘दान्भी’को हाल धमाधम एक्सन दृश्यको छायांकन भैरहेको छ । काठमाडौंको नैकापमा सेट नै लगाएर यसको निर्माणपक्षले क्लाइमेक्सका दृश्यहरु खिचिरहेको छ ।

चलचित्र ‘दान्भी’को क्लाइमेक्समा सय जना फाइटर प्रयोग गरिएको निर्देशक रुपेश तामाङले जानकारी दिए । उनले भने-‘चलचित्रको क्लाइमेक्सका लागि हामीले निकै मिहिनेत गरिरहेका छौ । दर्शकले साउथ र बलिउड चलचित्रमा देख्दै आउनुभएको उच्च तहको एक्सन नेपाली चलचित्रमा पनि अब देख्न पाउनुहुनेछ ।’

चलचित्रको क्लाइमेक्सका लागि ३ दिनदेखि काम गरिरहेकी नायिका पूजा शर्माले भनिन्–‘चलचित्रको मेकरले एक्सनका लागि कुनै कसर बाँकी राख्नु भएको छैन । मैले पनि आफूले सकेको मिहिनेत गरिरहेको छु । आशा छ, दर्शकले नेपाली चलचित्रमा एक्सनको नयाँ प्रयोग हेर्न पाउनुहुनेछ ।’ पूजाले एक्सनमा काम गर्न सजिलो नभएको समेत तर्क गरिन् ।

चलचित्रमा श्री श्रेष्ठले एक्सन निर्देशन गरिरहेका छन् । चलचित्रमा पूजाको साथमा नायक कुन्साङ बोमजोमले अभिनय गरिरहेका छन् । चलचित्रको क्लाइमेक्स र केही एक्सनको दृश्य खिचेर यसको निर्माणपक्ष बाँकी दृश्यका लागि दार्जिलिङ प्रस्थान गर्नेछ ।

हरि लामा घलेको छायांकनमा तयार भैरहेको चलचित्रका सह-निर्देशक नवराज शर्मा हुन् । अनुप गदाल र देव मगरको लगानीमा तयार भैरहेको यो फिल्ममा कमला लिम्बु र गोकुल सुवेदी सह–निर्माताको रुपमा छन् ।

चलचित्रमा कथा रविना थापा मगरको छ भने, पटकथा तथा संवाद संजोग रानाको छ । चलचित्रमा अर्जुन पोखरेलेको संगीत, कविराज गहतराजको कोरियोग्राफी छ ।


ताजा खबर