चलचित्र ‘२ नम्बरी’ निर्देशक दीपेन्द्र लामाले नयाँ चलचित्र ‘नांगो गाउँ’को निर्माण घोषणा गरेका छन् । लामाकै लेखन तथा निर्देशनमा निर्माण हुने चलचित्रमा दयाहाङ राई र मिरुना मगर अनुबन्धित भएका छन् ।
मनिष्मा फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्रका प्रस्तुतकर्ता हिमाल शर्मा हुन् । चलचित्रमा जय श्रेष्ठको लगानी रहनेछ । मिरुना र दयाले यसअघि यो वर्षको ब्लक बस्टर चलचित्र ‘कबड्डी ४’मा अभिनय गरेका थिए ।
निर्देशक लामाका अनुसार चलचित्रमा अन्य कलाकार छनोट चरणमा छन् । उनले चलचित्रमा दयासँगै अर्का एकजना अभिनेताको पनि मुख्य भूमिका रहने खुलाए । राजनीतिक कथावस्तुमा आधारित चलचित्रको छायांकन चैतबाट सुरु हुनेछ ।
‘यो चलचित्रमा हामीले मानव जातिको लाचारीपना, निर्लज्जता र ढोंगप्रति कडा ब्यंग्य गर्ने तयारी गरेका छौं । चलचित्रमा दर्शकले हाँस्यरस, प्रेम र कारुणिकताको पनि आनन्द लिन पाउनेछन्,’ उनले भने ।
लामाले यसअघि घामपानी, गोपी, छ माया छपक्कै र २ नम्बरी जस्ता चलचित्र निर्देशन गरिसकेका छन् ।