गत असोज २९ गतेबाट सुरु भएको ओटिटी प्लेटफर्म कान्तिपुर सिनेमाजमा दर्शकले नयाँ नयाँ फिल्म र सिरिजहरु हेर्न पाइरहेका छन् । कान्तिपुर सिनेमाजमा फिल्महरू ज्याकीः आइएम ट्वान्टी वान, जुलेवी, म, चि मुसी ची, खरानी, मदर, ऋतु, लभ सुत्र लगायतका बलिया सामाग्रीहरु दर्शकले हेर्न पाइरहेका छन् ।
यो सँगै आजबाट कान्तिपुर सिनेमाजले आफ्नै निर्माणमा तयार पारेको ‘मिस स्कार्लेट’को स्ट्रिमीङ्ग सुरु गरेको छ ।
गत वर्षको माघबाट वीरगन्ज र काठमाडौंमा २७ दिन लगाएर छायांकन गरिएको यो सिरिजको पहिलो सिजनमा ४ भाग हुनेछन् । हरेक भाग ३५ देखी ४० मिनेटको हुनेछ । केही महिना अगाडी सिरिजको हिन्दी, अङ्ग्रेजी र नेपाली भाषामा सार्वजनिक गरिएको टिजर र ट्रेलरलाई दर्शक र फिल्मीकर्मीले राम्रो प्रतिक्रिया दिएका थिए ।
सिरिजलाई बलिराम चौहानले निर्देशन गरेका हुन भने यसका क्रियटिभ प्रोड्युसर प्रकाश पुरी हुन् । सिरिजको टिजर, ट्रेलर र कलाकार र प्राविधिकहरुको लाईनअप हेर्दा नेपालमा बन्ने सिरियल र सिरिज भन्दा धेरै स्तरीय बनेको अनुमान लगाउन सकिन्छ । ‘टलकजंग भर्सेस टुल्के’का छायांकार शेर बहादुर तामाङले खिचेको सिरिजमा चर्चित म्युजिकल समुह नोवेल फ्रिक्सले म्युजिक दिएका छन् ।
टिजरबाटै अभिनय र भ्वाइसको तारिफ पाएका नव अभिनेता कुल श्रेष्ठ कमलको काम दमदार देखिएको छ । सिरिजमा टाइटल रोलमा गित बिष्ट सँगै आलीशा बास्तोला, कपिल रसाइली, सबी थापा, सुमित्रा अधिकारी, अर्नव घिमिरे, दिलीप नेपाली, रोज खत्री लगायतको अभिनय रहेको छ ।
यो सिरिजलाई विश्व भरिका दर्शकले कान्तिपुर सिनेमाजमा २९९ रुपैयाँ तिरेर हेर्न पाउनेछन् । नेपाली रुपैयाँ २९९ मा एक पटक सब्स्क्रीप्सन लिएपछि दर्शकले प्लाटफर्ममा भएका सबै फिल्म र सिरिजहरू एक महिना भरि हेर्न पाउने कान्तिपुर सिनेमाजका सिइओ तथा ‘मिस स्कार्लेट’का क्रियटिभ प्रोड्युसर प्रकाश पुरीले जानकारी दिए ।