सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले फिल्म ‘सतीदेवी’प्रति चासो लिँदै नेपालमा यस प्रकारका मौलिक, यथार्थपरक फिल्म निर्माणमा जोड दिनुपर्ने बताएकी छिन् ।
मन्त्री शर्मा र ‘सतीदेवी’ का लेखक, निर्माता, निर्देशक लक्ष्मण सुवेदीबीच बुधबार मन्त्रीकै कार्यकक्ष सिंहदरवारमा भएको भेटघाटमा नेपाली फिल्मको विकास, बिस्तार र श्रीवृद्धिका लागि मौलिक कथा प्रस्तुतिमा जोड दिनुपर्ने मन्त्री शर्माको राय थियो । मन्त्री शर्माले फिल्म ‘सतीदेवी’ नारी प्रदान, मौलिक कथामा निर्माण भएको सुनेकाले आफूलाई रुचि लागेको बताएकी थिइन् ।
निर्देशक सुवेदीले मन्त्री शर्मालाई आफ्नो फिल्मको विषयबस्तुको बारेमा जानकारी गराए । मन्त्री शर्माले ‘सतीदेवी’ फिल्मबारे निकै अभिरुचिका साथ सुनेर यस प्रकारका मौलिकता बोकेका नेपालीपनयुक्त फिल्मलाई राज्यले विशेष रुपले सहयोग गर्ने प्रतिबद्धता जनाएको निर्देशक सुवेदीले बताए ।
मन्त्री शर्माले आफू सधैँ नेपाली फिल्मको गुणस्तरीय र व्यावसायिक विकासको पक्षमा रहेको जोड दिँदै छिट्टै नै चलचित्र ऐन लागू गर्न आफू लागिपरेको बताइन् ।
मन्त्री शर्माले फिल्म अभिव्यक्तिको निकै सशक्त माध्यम भएकाले देशको कला, भाषा, संस्कृतिको विकास र प्रबद्र्धनमा निकै प्रभावकारी भूमिका निर्वाह गर्ने बताउँदै फिल्मकर्मीहरुले मौलिक फिल्म निर्माणमा लाग्नु पर्ने धारणा राखिन् ।
सञ्चारमन्त्री शर्माले आफ्नो फिल्मप्रति दिएको अभिरुचि र सहायताको प्रतिबद्धताबाट आफू निकै प्रफुल्लित र प्रेरित भएको निर्देशक सुवेदीले बताए । उनले मन्त्री शर्मा नेपाली फिल्म र फिल्मकर्मीको समुन्नतिका लागि केही गरौं भन्ने भावनायुक्त पाएको समेत उल्लेख गरेका छन् ।