तीन अभिनेताहरु आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको मुख्य भूमिका रहेको फिल्म ‘पूजार सार्की’को पोस्टर सङै प्रदर्शन मिती पक्का गरिएको छ । शुक्रबार निर्देशक राउतले फिल्मको दुई पोस्टर सार्वजनिक गर्दै आगामी १० गते बुद्ध जयन्तीको विदा लक्षित गर्दै प्रदर्शन मिती पक्का गरेको हो। निर्देशक दिनेश राउतले निर्माता र वितरकको सल्लाहअनुसार प्रदर्शन मिति घोषणा गरिएको बताए ।
निर्देशक दिनेश राउतको निर्देश रहेको यो फिल्मको सार्वजनिक पोस्टरमा निधारमा रातो टिका लगाएका अभिनेता प्रदीप खड्काले दमाहा बजाइरहेका छन् भने अभिनेता द्वय आर्यन सिग्देल र पल शाह आ-आफ्नो चरित्रमा छन् । त्यस्तै अर्को पोस्टरमा आर्यनलाई भलाद्मी, पललाई नेतृत्वदायी र प्रदीपलाई केही निर्धो भूमिकामा चित्रण गरिएको छ । पोस्टरले यी तीन पात्र साथी रहेको बुझ्न सकिन्छ । चौतारोमा बसी पलले गफ हाँकिरहेका छन् भने आर्यन र प्रदीपले हँसिलो मुद्रामा सुनिरहेका छन् ।
विकास सुवेदीको लेखन रहेको यो फिल्ममा संगीतकार सुवास भुसालको निर्माण र राजेश श्रेष्ठको छायांकन छ । जातीय विभेदविरुद्धको कथामा आधारित भएर फिल्म बनेको छ ।
किङ्गडम नेटवर्कको ब्यानरमा निर्माण भएको फिल्ममा निर्माता भुषाल स्वयंको संगीत छ भने हर्क साउद, बि. पाण्डे, दिनेश राउत र गणेश शाहीको गीत रचना, हिमाल केसीले द्वन्द्व निर्देशन, सुप्रिम पराजुलीको सम्पादन तथा शैलेश श्रेष्ठको ब्याकग्राउन्ड स्कोर छ । आर्यन, प्रदीप र पलले पहिलोपटक एकसाथ काम गरेका कारण यो फिल्मले बक्स अफिसमा सुखद् व्यापार गर्न सक्ने देखिन्छ ।
फिल्ममा अञ्जना बराइली, परीक्षा लिम्बू, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, प्रेम सुब्बा, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय छ ।