लोकदोहोरी गायिका छन्त्यालको विमान दुर्घटनामा निधन, देशभरका दोहोरी साँझ सोमबार बन्द हुने

आइतवार काठमाडौँबाट पोखराकालागि उडेको यति एयरलाईन्सको जहाज दुर्घटनामा परि लोकदोहोरी गायिका निरा छन्त्यालको निधन भएको हो । उनी दुर्घटनाग्रस्त एयरलाइन्सको ६१९ फ्लाइट विमानको सिट नम्बर ११ डीमा बसेकी थिइन् ।

माघे संक्रान्तिको अवसरमा पोखरामा आयोजित कार्यक्रमका लागि काठमाडौंबाट पोखरा प्रस्थान गरेका उनको दुर्घटनामा निधन भएको नीराकी दिदी हीरा छन्त्याल शेरचनले पुष्टि गरेकी हुन् । बाग्लुङ घर भएकी गायिका छन्त्याल आइतवार पोखरामा हुने कार्यक्रममा सहभागी हुन सो जहाजमा गएकी थिइन् ।

२२ बर्षिया नीरा ‘लाइभ दोहोरी’ मा चर्चित थिइन् । उनका लाइभ दोहोरीहरु निक्कै चर्चित छन् । उनी पाँच वर्षयता लोक तथा दोहारी गायनमा सक्रिय थिइन् ।

उनले शनिबार काठमाडौंमा समेत साङ्गीतिक प्रस्तुति दिएकी थिइन् । काठमाडौंको कार्यक्रमका तस्विर राख्दै उनले लेखेकी थिइन् ‘अब भोलि पोखरामा रमाइलो गर्नुपर्छ ।’ बागलुङकी उनले स्वर दिएका केही लोकदोहोरी गीतहरू स्रोता दर्शकहरूले रुचाएका छन् । यस वर्ष तीजमा समेत उनले नयाँ गीत ल्याएकी थिइन् ।

नेपाल छन्त्याल युवा संघ जिल्ला समिति कास्कीले कार्यक्रमको आयोजना गरेको थियो । यद्यपि, उनी चढेको विमान दुर्घटनामा परेको खबरसँग कार्यक्रम स्थगित गरिएको आयोजक संस्थाले जनाएको छ ।

यस्तै, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले दुर्घटनामा ज्यान गुमाएकी गायिका छन्त्यालको निधनमा सोमबार देशैभर शोक मनाउने निर्णय गरेको छ ।

प्रतिष्ठानकी सदस्य समेत रहेकी निराको निधनमा सोमबार केन्द्र, प्रदेश र देशभरका सबै शाखामा शोक मनाउँदै देशैभरका लोकदोहोरी साँझहरु बन्द गर्ने निर्णय प्रतिष्ठानको आकस्मिक बैठकले गरेको बैठकपछि जारी विज्ञप्तीमा जनाईएको छ ।

विज्ञप्तीमा नेपाली लोकदोहोरी गायनको क्षेत्रमा प्रस्तुतीको हिसाबले अब्बल, मिलनसार, स्टेज कार्यक्रमहरुमा सुन्दर प्रस्तुती दिएर सबैको मन जित्न सफल छन्त्यालको निधनले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाललाई अपुरणीय क्षति पुगेको उल्लेख गरिएको छ ।

आज बिहान साढे १० बजे काठमाडौंबाट पोखराको लागि उडेको यति एयरलाइन्सको जहाज दुर्घटना भएको थियो । चालक दलका ४ जनासहित कुल ७२ जना सवार विमान आज बिहान पोखरास्थित सेती नदीको खोँचमा खसेको हो ।


ताजा खबर