यही जेठ २५ गतेबाट प्रदर्शन हुने घनश्याम लामिछाने निर्देशित फिल्म ‘लण्डन टु पेरिस’को तेस्रो गीत ‘सुबी डु’ सार्वजनिक भएको छ । शुक्रबार ओएसआर डिजिटलको युट्युब च्यानलबाट फिल्मको यो रोमान्टिक गीत रिलिज गरिएको हो ।
गीतमा बियोण्डको संगीत तथा शब्द तथा बियोण्ड र प्रबिसा अधिकारीको स्वर छ । तीन जोडीको प्रेमकथा दर्शाउने गीतमा साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का, गरिमा शर्मा र कविर खड्का फिचर्ड छन् । डान्सिङ नम्बरको गीतमा लंगनेस फर्नान्डेजको कोरियोग्राफी छ ।
फिल्मले ट्राभल लभस्टोरीको कथा पेस गर्छ । फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । फिल्ममा कविर खड्का, रुष्मा थापा, मनिष श्रेष्ठ तथा मनिष गान्धीको प्रमुख अभिनय रहेको छ ।
एबी इन्टरनेश्नलको प्रस्तुति रहेको फिल्ममा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ । फिल्ममा रुस्मा थापा, मनीष गान्धी, मनीष श्रेष्ठ र लोकविक्रम मल्लको समेत अभिनय छ ।
अमित बस्नेतले निर्माण गरेको फिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् । सनिश खकुरेल र अजित केआर थापा फिल्मको सह-निर्माता हुन् भने अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी यसका कार्यकारी निर्माता हुन् ।
फिल्ममा अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लंगनेस फर्नान्डेजको कोरियोग्राफी, साहिल खानको ट्रेलर, विजय वस्यालको पोस्टर डिजाइन, मुख्य सहायक निर्देशकमा फिरोज खड्का रहेका छन् । रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले फिल्मलाई नेपालभर वितरण गर्नेछन् ।