‘गाउँ आएको बाटो’को प्रिमियरका लागि नेपाल आइन् संगीतकार हाइडी

फिल्म ‘गाउँ आएको बाटो’को नेपाल प्रिमियरमा सहभागी हुन संगीतकार हाइडी ली नेपाल आइपुगेकी छिन् । नवीन सुब्बा निर्देशित फिल्ममा हाइडीले पार्श्व ध्वनीमा काम गरेकी छन् ।

यसअघि उनी फिल्मको गीतमा संगीत भर्न नेपाल आएकी थिइन् । फिल्म गर्नुअघि उनी अनुसन्धानकै लागि पनि एक पटक नेपाल आएकी थिइन् ।

हाइडीले राई संस्कृतिको लय, धुनमाथि अध्ययन गर्दै परम्परागत र पश्चिमा संगीत मिसाउँदै फिल्मको गीत तयार पारेकी छन् । फिल्म छायांकन भएको स्थानबाटै पनि हाइडीले राई संगीतलाई बटुलेकी छन् ।

फिल्मको कथा र भाव नियाल्दै आफूले फिल्ममा पार्श्व ध्वनी निर्माण गरेको पनि हाइडीको भनाइ छ । उनी आफूले संगीत गरेको नेपाली फिल्मको प्रतिक्रिया लिन उत्साहित छिन् ।

“यो फिल्म धेरै अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा देखायौँ । यो फिल्म जुन देशको हो त्यही देशमा अहिले प्रदर्शनको तयारीमा छ । म, यहाँका स्थानीय दर्शकसँग बसेर फिल्म हेर्न निकै उत्साहित छु,” हाइडीले भनिन्, “म नेपाली होइन । तर, पनि मैले नेपालको यस्तो फिल्ममा संगीतदेखि पार्श्व ध्वनीमा काम गरेँ । मैले गरेका ती कामको प्रतिक्रिया बटुल्न पनि म उत्साहित छु ।”

फिल्म ‘गाउँ आएको बाटो’ यही २५ गते नेपालमा रिलिज हुँदैछ ।


ताजा खबर