फिल्म ‘ईश्वर’को प्रतिक्रिया आएपछि अरू फिल्म गर्ने या नगर्ने निर्णय कुरेर बसेकी कृष्टिन

गुरुङ फिल्ममा अभिनय गरिरहेकी नायिका कृष्टिन गुरुङ यही साउन ११ गतेबाट रिलिज हुने फिल्म ‘ईश्वर’मा नायिकाकै रुपमा दर्शकमाझ आउँदैछिन् । यसअघि फिल्म ‘दयारानी’मा छोटो भूमिकामा अभिनय गरेकी उनी ‘ईश्वर’मा भने प्रमुख भूमिकामा नै छिन् ।

कृष्टिनका अनुसार फिल्मका निर्माता ध्रुव थापा र माओत्से गुरुङका कारण उनी यो फिल्ममा जोडिएकी रहिछन् । ‘उहाँहरु यो फिल्मका लागि मंगोलियन अनुहारको नायिका खोजिरहनुभएको रहेछ । उहाँहरुसँग भेट भएपछि ईश्वरमा जोडिएँ’, कृष्टिन भन्छिन् ।

गुरुङ फिल्ममा ग्रामीण चरित्र निर्वाह गरेकी कृष्टिनले ‘ईश्वर’ मा पनि त्यही चरित्रलाई निरन्तरता दिएकी छन् । ‘फिल्ममा मेरो चरित्रको नाम मिनु हुन्छ । म विद्यालयकी शिक्षिका छु । म आफ्नो चरित्रबाट सन्तुष्ट छु’, कृष्टिन भन्छिन् ।

फिल्मको ट्रेलरमा कृष्टिनसँग फिल्मका नायक ध्रुव थापा र कलाकार बुद्धि तामाङको प्रेम देखाइएको छ । ‘फिल्ममा बुद्धि दाई मेरो फुपुको छोरा र म चाहिँ बुद्धि दाईको मामाको छोरी छु । नाताले हामी सोल्टी सोल्टिनी । हाम्रो संस्कृतिमा सोल्टी सोल्टिनीको हक लाग्ने भएकाले पनि हामीलाई एकअर्का प्रति नजिकिएको देखाइएको छ’, उनी भन्छिन् ।

कृष्टिनको अनुभवमा उनलाई मिनु चरित्र निभाउन केही चुनौती पनि अनुभव भएको रहेछ । ‘म सानो क्यारेक्टरबाट नेपाली फिल्ममा आएकी हुँ । सुरुदेखि नै ठूलो क्यारेक्टरबाट आएको भए त्यो च्यालेन्ज हुँदैन थियो होला । तर ईश्वरमा केही च्यालेन्ज चाहिँ भयो’, कृष्टिनको बुझाई छ ।

कृष्टिनले सिरिज ‘क्राइम फाइल’मा मात्र आधुनिक गेटअपमा अभिनय गरेकी रहिछन् । ‘मलाई गाउँले जनराकै फिल्म मनपर्छ । त्यहीकारण अहिलेसम्म ग्रामीण किसिमकै चरित्र निभाइरहेकी छु । किनभने त्यही रहनसहनमा हुर्केकी छु । मलाई आधुनिक क्यारेक्टरमा फिट हुँदैन कि जस्तो लाग्छ’, उनी भन्छिन् ।

गुरुङ भाषाका फिल्मबाट नेपाली फिल्ममा आफूले पाइला टेकेकाले आफ्नो कामलाई दर्शकले मनपराइदिनेमा उनी ढुक्क छिन् । ‘म ईश्वरबाट आशावादी छु । अहिले ईश्वरमा नै ध्यान दिइरहेको छु । अरु फिल्मको लागि कुरा गरेकी छैन् । ईश्वरबाट कस्तो प्रतिक्रिया आउँछ, त्यसपछि अरु फिल्म गर्ने या नगर्ने भन्ने टुंगो लाग्छ’, उनी भन्छिन् । फिल्म ‘ईश्वर’मा राजु गिरीको निर्देशन छ ।


ताजा खबर