चलचित्र विकास बोर्डबाट विदा हुँदै भुवनले भने- ‘फिल्म क्षेत्रलाई सरकारले के गर्‍यो ?’

अभिनेता भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्ष पदबाट बिदा भएका छन् । दुई वर्षे कार्यकाल पूरा गरेर उनी आजबाट बोर्डको अध्यक्ष पदबाट बिदा भएका हुन् ।

उनको बिदाइमा बोर्डले आफ्नै हलमा कार्यक्रम राखेको थियो । बिदाइ कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव पनि पुगेका थिए । मन्त्रालय र बोर्डका कर्मचारीले केसीलाई बिदा गरेका हुन् ।

बिदाइ कार्यक्रममा उनले आफ्नो कार्यकालका उपलब्धीबारे चर्चा गरेका थिए । कति काम चाहेर पनि बजेट र समय अभावका कारण गर्न नसकिएको उनले बताए ।

सीमित स्रोत साधनका बाबजुद पनि आफ्नो कार्यकाल सफल रहेको उनले बताए ।

बिदाइ कार्यक्रममा बोल्दै बोर्डका निवर्तमान अध्यक्ष केसीले फिल्म क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको बताएका छन् ।

‘नेपाली फिल्म क्षेत्र यहाँसम्म आइपुग्दा सरकारले चाहिँ के गर्यो त ? नेपाली फिल्म क्षेत्रले यहाँसम्म आइपुग्नुको योगदान सरकारको योगदान शून्यजस्तो लाग्छ । फिल्म क्षेत्र यहाँसम्म आइपुग्नुलाई सरकारको महत्व प्रभावकारी छैन् । यदि सरकारले चाहेको भए फिल्म क्षेत्र आज विदेशी फिल्मसँग प्रतिस्पर्धा गर्न सक्थ्यौं, अहिले पनि गरिरहेका छौं । तर त्यसका लागि केही निर्माता, कलाकार, निर्देशकहरुले घर–खेत बेचेर यो क्षेत्रलाई यहाँसम्म ल्याएका हुन्, केसीले गुनासो गरे ।

सरकारले आश्वासन मात्र दिएको गुनासो गर्दै नेपाली फिल्म क्षेत्रका लागि नेताहरूले भाषणबाहेक केही गर्न नसकेको बताए ।

‘एउटा स्टुडियो बनाउन सकेको छैन । तर सबै कलाकारहरूले मन्त्रीहरूलाई सुझाव सल्लाह दिएका हौं । तर त्यो कुरा कुनै मन्त्रीले उठाउन सकेनन्, उनको भनाइ छ ।

यस्तै केसीले कुनै स्वार्थमा अध्यक्ष नबनेको दावी गर्दै अबको दिनमा जे–जस्तो अवस्थामा भएपनि नेपाली फिल्मलाई अगाडि बढाउन सधैँ तत्पर रहनेसमेत बताए ।


ताजा खबर