‘महापुरुष’ले बहिष्कार गर्‍यो चलचित्र विकास बोर्डको दुबईमा हुने नेपाल फिल्म फेस्टिभल

चलचित्र विकास बोर्डले दुबईमा आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा ‘महापुरुष’ देखाउने भन्दै प्रचार गरिएकोमा निर्माण कम्पनी षट्कोण आर्ट्सले बहिष्कारको घोषणा गरेको छ ।

बोर्डले सूर्य कर्पोरेसनसँग मिलेर १२ फेब्रुअरीदेखि सुरु हुने फेस्टिभलमाथि प्रश्न उठाउँदै जानकारीविना आफ्नो चलचित्र समावेश गरेको र फेस्टिभलमा सहभागी नजनाउने बताएको हो । 

यही फेस्टिभलका बारेमा बोर्ड अध्यक्ष भुवन केसी चाहिँ अन्तर्राष्ट्रिय बजारको खोजी र विस्तारका लागि हुन लागेको र यो फेस्टिभल लाभदायक हुने बताउँदै आएका छन् । बोर्डले विवादास्पद कम्पनी सूर्य कर्पोरेसनलाई इभेन्टको जिम्मा दिँदै दुबईमा फेस्टिभल गर्ने तयारी गरिरहेको छ ।

फेस्टिभलमा ‘कबड्डी कबड्डी ४’, ‘ऐना झ्यालको पुतली’, ‘महापुरुष’आदि चलचित्र पनि देखाउने कार्यतालिका रहेको छ । तर, सूर्य कर्पोरेसन र फेस्टिभलको सरकारी लगानीलाई लिएर प्रश्न उठिरहेका बेला महापुरुष टिमले उक्त विवादित र अनावश्यक खर्चको कार्यक्रममा सहयोग र सहमति नहुने भन्दै फेस्टिभल प्रति आपत्ति जनाएको छ ।

‘महापुरुष’का निर्माताले सोमबार सामाजिक सञ्जालमार्फत एक विज्ञप्ति जारी गर्दै आफूहरूलाई नसोधीकन र अनधिकृत ढंगले फिल्म देखाउन लागिएको भन्दै प्रदर्शन गर्न अनुमति नदिने निर्णय गरेको हो।

‘चलचित्र विकास बोर्ड ले ३० लाख खर्च गरेर विवादास्पद कम्पनी सूर्य कर्पोरेशनसँग मिलेर नेपाली फिल्म र पर्यटनलाई विश्वसामु पुर्‍याउने नाराका साथ दुबईमा गर्न लागेको नेपाली सिनेमा फेस्ट २०२३ मा हाम्रो फिल्म महापुरुष हामीसँग अनुमति नलिकन उक्त कार्यक्रममा समावेश गरेकोमा हाम्रो ध्यानाकर्षण भएको छ,’ षट्कोण आर्ट्सले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेको छ । 

विश्व बजारमा नेपाली चलचित्रलाई पुर्‍याउने बोर्डको कार्य स्वागतयोग्य रहेको बताउँदै आर्ट्सले प्रश्न गरेको छ, ‘हाम्रो नेपाली चलचित्रलाई विश्व बजारमा पु-याउने विकास बोर्डको चाहना स्वागत छ । तर, यी र यस्ता नेपालीहरु माझ हुने घुमघाम र नाचगान कार्यक्रमले नेपाली फिल्मलाई कसरी सहयोग विश्व बजारमा लैजान्छ होला ?’

नेपाली फिल्महरुको सेन्सरमा ट्रान्सलेसनमा आर्थिक सहयोग गरे केही राहत हुने भन्दै आर्टस्ले नेपाली सिनेमा फेस्ट २०२३ मा महापुरुषलाई समावेश नगर्न आग्रह गरेको छ । 

‘३० लाख रुपैयाँले मध्यपूर्वमा  व्यवसायिक प्रदर्शन हुने नेपाली फिल्महरुको सेन्सरमा ट्रान्सलेसनमा सहयोग गरे केही राहत होला । साथै विवादमा आएको कम्पनीसँग सहकार्य गर्न बोर्डलाई के कुराले बाध्य बनायो होला ? यी र यस्तै प्रश्न र सुझावसहित हाम्रो फिल्म उक्त कार्यक्रममा सहभागी नगराउनु हुन अनुरोध गर्दछाैँ,’ आर्टस्ले भनेको छ । 


ताजा खबर